काठमाडौं, ७ भदौ । नेकपा (एमाले) विभाजन गरेर निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको प्रक्रियामा गएका माधव नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । आज दिउँसो नेता नेपाल राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुगेका हुन् । उक्त भेटवार्तामा नेता नेपाललाई पार्टी विभाजन किन गरेको ? भन्दै राष्ट्रपति भण्डारीले प्रश्न गरेको स्रोतको दाबी छ ।
राष्ट्रपति भण्डारीले दल विभाजन हुनु लोकतन्त्रको लागि राम्रो कुरा नभएको भन्दै अझैपनि मिल्नको लागि प्रयास गर्न नेता नेपाललाई सुझाएकी थिईन् । उच्च स्रोतकाअनुसार नेता नेपालले भने आफू एमालेमा फर्कनको लागि अध्यक्ष केपी शर्मा ओलीले तीन वटा काम गर्नुपर्ने शर्त राखेका छन् । उनले राखेको पहिलो शर्त हो–आफूलगायत १४ जना सांसदलाई गरेको कारबाही फिर्ता लिने ।
एमालेले माधव नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नको लागि संसद् सचिवालयलाई पत्राचार गरेको छ । र, कारबाहीको लागि ताकेता पनि गरेको छ। त्यस्तै, नेपालले राखेको दोस्रो शर्त हो–केपी ओलीले पहिलो र दोस्रो दुवै पटक गरेको संसद् विघटन गल्ती थियो भनेर माफी माग्नुपर्ने । तर, अध्यक्ष ओलीले भने कुनैपनि हालतमा माफी नमागिने स्पष्ट पारिसकेका छन् । बरु, आफूले संसद् विघटन गरेको कुराको अहिले औचित्य पुष्टि भएको उनको जिकिर छ ।
त्यस्तै, नेता नेपालले राखेको तेस्रो शर्त भनेको–एकता कार्यदलले यसअघि ल्याएको १० बुँदे सहमतिको अक्षरश कार्यान्वयन गर्नुपर्ने । नेता नेपालले राखेको यो तेस्रो शर्त भने अध्यक्ष ओलीले मान्ने भनेर आजमात्रै दोस्रो तहका नेताहरुसँग सहमति गरिसकेका छन् । आज विहानमात्रै आफूलाई भेट्न आएका नेताहरुलाई उनले दश बुँदे सहमतिको कार्यान्वयन हुने प्रतिबद्धता जनाएका थिए । त्यस्तै, भोलि नै स्थायी कमिटीको बैठक राखिएकोले सबै नेताहरु त्यहाँ आउनपनि उनले आग्रह गरेका छन् । नेता नेपाललाई भने दल दर्ताको लागि सनाखत गर्न बुधबार निर्वाचन आयोगले बोलाएको छ । file photo
माधव नेपाल ब्याक भए बामदेवले नयाँ दलको लगाम समात्ने