Logo

अमेरिकी फौज र तालिवानबीच भिडन्तको खतरा



एजेन्सी, ७ भदौ । अफगानिस्तानमा अमेरिकी फौज र तालिवानबीच भिडन्तको खतरा बढेको छ । काबुल बिमानस्थलमा विदेशी नागरिक र सहयोगी अफगानीलाई विमानमार्फत् लगिरहेको अमेरिकीलगायत विदेशी सैनिकलाई तालिवानले चेतावनी दिएपछि भिडन्तको खतरा बढेको हो ।

आफ्ना नागरिक र सहयोगी अफगानीलाई लान अमेरिकी सैनिकले काबुल विमानस्थलमा नियन्त्रण कायम गरेको छ । ३१ अगष्टसम्म विदेशी नागरिकलाई लगिसक्ने लक्ष्यका साथ सक्रिय अमेरिकी सैनिकले समय थप्न सक्ने संकेत दिएपछि तालिवानले चेतावनी दिएको हो ।

अमेरिकी राष्ट्रपति जोय वाइडेनले आइतबार ३१ अगष्टको समयसीमा लम्बिनसक्ने संकेत गरे । त्यसपछि तालिवानी नेताले चेतावनी दिएका हुन् । कतारमा रहेका तालिवानी नेता सुहेल सहिनले सोमबार हस्तक्षेपकारीहरुले समय थप्न खोजेको भन्दै आलोचना गरे । तर, बेलायतले पनि विदेशी नागरिक र अफगानी सहयोगीहरुलाई लान समयसीमाभन्दा बढी समय लिने संकेत गरेका छन् । यसले विदेशी फौजसँग तालिवानको भिडन्तको खतरा बढेको छ ।

काबुल विमानस्थल जान तालिवानले कडाई गरेको छ । एक हप्ताभित्र विमानस्थल क्षेत्रमा २० जनाको मृत्यु भइसकेको छ । विमानस्थलको उत्तरी ढोकामा अफगानी सैनिक गोली हानाहानमा मारिएका छन् ।

१४ अगष्टबाट अमेरिकाले ३७ हजार मानिसलाई त्यहाँबाट विदेशी मुलुक पुराइसकेको छ । बेलायतले १० हजारभन्दा बढीलाई लगेको तथ्यांक छ ।

यसैगरी, तालिवानले केन्द्रीय बैंकको प्रमुख नियुक्त गरेको छ । तालिवानको अनुरोधमा इरानले तेल निर्यात सुचारु गरेको छ । इरानबाट आयात हुने तेलको करमा तालिवानले ७० प्रतिशतसम्म छुट गरेको छ ।



प्रतिक्रिया दिनुहोस्