Logo

राहदानी सङ्ग्रहालय स्थापना



काठमाडौं, भदौ ८। नेपालको राहदानी प्रचलनको अभिलेख राख्ने उद्देश्यसहित राहदानी विभागले राहदानी सङ्ग्रहालय स्थापना गरेको छ । परराष्ट्र मन्त्रालयको महत्त्वपूर्ण अङ्गका रूपमा रहेको विभागले नेपालको राहदानीको इतिहास र वर्तमानलाई भविष्यको पुस्तासम्म पु(याउन राहदानी सङ्ग्रहालय स्थापना गरेको हो ।

विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार नेपालमा राहदानी प्रयोगको इतिहास अभिलेखीकरण गर्न सङ्ग्रहालयले सघाउनेछ । विभागले नेपाली नागरिकको विदेश आवागमनका लागि कानुनी राहदानी जारी गर्नुका साथै त्यस्ता कागजपत्र व्यवस्थित गर्ने काम गर्छ ।

राहदानीको इतिहास कायम रहोस् भन्ने मनसायका साथ राहदानी सङ्ग्रहालय खुलाइएको विभागका निर्देशक तथा प्रवक्ता राजेन्द्र पाण्डेले बताए। हालसम्म निकै पुराना दुईवटासहित ६० वटा राहदानी सङ्कलन भइसकेको छ । राहदानी सङ्ग्रहालयलाई भौतिक सामग्रीसहित अवलोकन गर्नेभन्दा पनि डिजिटल रूपमै विश्वका जुनसुकै कुनाबाट हेर्न मिल्ने बनाउने अभियान विभागले थालेको उनले बताए।

सङ्ग्रहालयमा आइपुगेका दुई पुराना राहदानीमध्ये एक राहदानी इन्दुशमशेर थापाको नाममा सन् १९५९ नोभेम्बर १९ मा जारी भएको राहदानी छ । उनका छोरा गौरवशमशेर थापाले केही दिनअघि मात्रै विभागलाई सङ्ग्रहालयमा सुरक्षित राख्न राहदानी हस्तान्तरण गरेका थिए ।

प्राचीन नेपाली शैलीमा निर्माण गरिएको सो राहदानीको भित्री पाना तथा भिसाको मिति तोक्ने पानाहरूको उल्लिखित विवरणले नेपालको पुरानो कालखण्डको भाषा झल्काउने गर्छ ।ऐतिहासिक राहदानीको रोचक जानकारी दिने भएकाले त्यो राहदानी सङ्ग्रहालयको महत्वपूर्ण गहना मानिएको पाण्डेले बताए । त्यो राहदानी निर्माण गर्दा नेपाल सरकारको नाममा छपाइ भएको देखिन्छ तर पछि श्री ५ को सरकार बनाइएको पाइएको छ ।

लन्डनस्थित नेपाली दूतावासबाट जारी गरिएको त्यो पुरानो राहदानीमा दूतावासका तत्कालीन प्रथम सचिव झरेन्द्रनारायण सिंहले हस्ताक्षर गरेका छन् । सङ्ग्रहालयलाई प्राप्त यो नै हालसम्मको पुरानो राहदानी हो । योभन्दा पनि पुरानो नेपालको कालखण्ड देखाउने अन्य राहदानीको पनि खोजी भइरहेको विभागले जनाएको आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले खवर लेखेकी छन् ।



प्रतिक्रिया दिनुहोस्