Logo

माधव नेपाललाई को को बाट बेइमानी र धोका



काठमाडौं, ८ भदौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि बेइमानी र धोकाधडी भएको भन्दै असन्तुष्टि जनाए । मध्यराति चन्द्रागिरीबाट ट्वीट गर्दै नेपालले नयाँ कम्युनिस्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवं धोकाधडी भएको बताए ।

भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेसहित विगतमा आफ्नो पक्षमा रहेका नेताहरु एमालेमै रहने निर्णयमा पुगेपछि माधव नेपालले कडा टिप्पणी गरेका हुन् । रावल लामो समय नेपालको साथमै रहे । उनको खेमाबाट नवौं महाधिवेशनबाट उपाध्यक्षमा सर्वाधिक मत ल्याई निर्वाचित भए । ओलीसँग निरन्तरको संघर्षमा कडा रुपमा उत्रिए । तर, शेरबहादुर देउवालाई विश्वासको मत दिने बखत उनी पछि हटे । त्यसपछि विस्तारै नेपालको साथ छाड्दै हिजोबाट औपचारिक रुपमै अलगिए ।

अष्टलक्ष्मी शाक्यले पनि लामो समय नेपाललाई साथ दिइन् । उनी बागमती प्रदेशको मुख्यमन्त्री बनाइन् । तैपनि, माधव नेपालको साथ पाउने दाबी गरिन् । उनी एमाले फुटाउने पक्षमा लागिनन् । युवराज ज्ञवाली पनि माधव नेपालका विश्वासपात्र मानिन्थे । उनले पनि साथ दिएनन् ।

सुरेन्द्र पाण्डे माधव नेपालको खेमाबाट नवौं महाधिवेशनमा महासचिवमा उम्मेदवार बनेर ईश्वर पोखरेलसँग झीनो मतले पराजित भएका थिए । पाण्डेले पनि नेपाललाई पार्टी फुटाउन साथ दिएनन् ।

गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्यले मात्र नभई रघुजी पन्तले पनि साथ दिएनन् । माधव नेपालले दर्ताका लागि निवेदन दिएको नयाँ दलमा अब नवौं महाधिवेशनमा निर्वाचित कुनैपनि पदाधिकारी छैनन् । निर्वाचित स्थायी कमिटी सदस्यमा माधव नेपालबाहेक कोही पनि छैनन् । झलनाथ खनाल विधानत स्वतः वरिष्ठ नेता हुन् ।

आफूलाई साथ दिदै आएका र नयाँ दल निर्माणमा प्रोत्साहित गर्नेहरुले नै धोका दिएको भन्दै माधव नेपाल रुष्ट भएका छन् । भीम रावलले नयाँ बन्ने पार्टीको विधान नै लेखेको खुलेको छ । घनश्याम भुसाल पनि नयाँ बनेको दलको डकुमेन्ट लेखनमा लागेका थिए । तर, सबैले अन्तिममा साथ छाडिदिए ।

रावल माधव नेपालको खेमामा रहेर पटक पटक मन्त्री भएका थिए । माधव नेपाल प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका थिए । गोकर्ण बिष्ट, योगेश भट्टराई र घनश्याम भुसाल पनि नेपालकै कोटाबाट विगतमा मन्त्री भएका थिए । युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य पनि नेपाल समूहबाट मन्त्री बन्न पाएकामा पर्दछन् । रघुजी पन्त पनि माधव नेपालकै पहलमा मन्त्री भएका थिए । तर, सबैले साथ छाडेपनि उनी रुष्ट भएका छन् । धोकाधडी र बेइमान भएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot