Logo

एमालेमा फेरि सशंय, किन सर्यो बैठक



काठमाडौं, ८ भदौ । आज विहान ११ बजे बस्नुपर्ने नेकपा एमाले स्थायी कमिटी बैठक ३ बजेका लागि सरेपछि संशय पैदा भएको छ । बैठकले नेकपा एमाले एकताका लागि विगतमा भएको १० बुँदे सहमति कार्यान्वयनको टुंगो लगाउने भनिएको छ । सहमति अनुसार एमालेको सांगठनिक संरचना २ जेठ २०७५ को अवस्थामा फर्किनेछ । तर, यसमा केही गडबडी भइसकेको बुझिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठकमा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टसहितलाई सहभागी गराउन खोजेपछि समस्या आएको विश्वस्त स्रोतले बताएको छ । उपाध्यक्ष भीम रावललगायतका नेताहरु एमालेको पुरानै कमिटीबाट निर्णय हुनुपर्ने अडानमा छन् । लेखराज भट्टप्रति रावल सकारात्मक छैनन् । उनीहरु अहिले नै बैठकमा हुन नहुने रावलसहितको समूहको भनाई रहँदै आएको छ ।

एमालेमा विकसित घटनालाई माधवकुमार नेपालले नागार्जुनमा बसेर बुझिरहेका छन् । उनले सोमबार दिनभर आफ्नो पक्षमा रहेर एमाले विभाजनमा साथ नदिएकाहरुलाई सम्झाउन खोजे । तर, सफल भएनन् । साँझ रावलसहितका नेताहरुले ओलीसँग सहमति गरेको खबर पाएपछि आक्रोशित भए । उनले धोकाधडी र बेइमान समेत भने ।

माधव नेपालले निकटस्थहरुसँग भीम रावल भुलभुलैयामा परेको टिप्पणी गरेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार ओलीले रावलसहितका नेताहरुलाई केही दिन अलमलाएर अप्ठ्यारोमा पार्ने ठोकुवा गरेका छन् ।

ओलीसँग सम्झौता गरेको भन्दै सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलगायतप्रति पनि माधव नेपाल आक्रोशित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot