काठमाडौं, ८ भदौ । नेकपा एमाले फुटको घटनाले अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री पद मिल्यो । यसअघि एमाले संसदीय दलको नेता बन्न नसकेर मुख्यमन्त्री बन्न नपाएकी उनलाई फुटले पद त मिल्यो तर कति दिन या महिना भनेजस्तो भयो ।
शाक्य स्वयं लामो समय मुख्यमन्त्रीमा रहनेमा विश्वस्त छैनन् । उनले माधवकुमार नेपालको समेत साथ पाएर मुख्यमन्त्री बनेको बताइसकेकी छिन् । स्वयं नेता नेपालले आज चन्द्रागिरीमा बोल्दै अष्टलक्ष्मी शाक्य आफ्नो सल्लाहले मुख्यमन्त्री बनेको खुलाएका छन् । तर, उनले २१ दिनभित्र शाक्यले नयाँ दल नरोजेमा साथ नदिने संकेत गरे । शाक्य एमालेमै रहने घोषणा गरिसकेकी छिन् । तैपनि, माधव नेपालले आफ्नो पक्षमा आउने आशा गरेका छन् । यसकारण अष्टलक्ष्मी अग्निपरीक्षामा छिन् ।
मुख्यमन्त्री शाक्यले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । एमालेको एकल बहुमत भएकाले सबैले पक्षमा मतदान गरेमा शाक्य विश्वासको मत लिन सफल भई आगामी निर्वाचनसम्म मुख्यमन्त्री रहनेछिन् । तर, बागमती प्रदेशसभामा एमालेका ५६ सांसदमध्ये माधव नेपाल पक्षमा रहेको सांसदको साथ नपाए नयाँ परिस्थिति विकास हुन्छ । बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखले आव्हान गर्न सक्छन् ।
बागमतीमा ११० सांसदमध्ये एमालेका ५६ मध्ये विगतमा माधव नेपालको पक्षमा २२ जना थिए । अष्टलक्ष्मी शाक्यले साथ छाडेपछि यो संख्या घटेर १० भन्दा कम रहेको बुझिएको छ । विभाजित पार्टीमा १० भन्दा कम सांसद गएकाले गठबन्धनको पनि बहुमत पुग्दैन ।
बहुमतको सरकार गठनका लागि आवश्यक ५६ सांसदका लागि माओवादी केन्द्रको २३ र नेपाली काँग्रेसको २२ जनामा थप ११ जना आवश्यक पर्छ । माधव नेपाल समूहमा १० भन्दा कम छ । त्यसबाहेक विवेकशील साझा पार्टीका ३, राप्रपाका २, नेपाल मजदूर किसान पार्टीका २ र स्वतन्त्र १ सांसद छन् । गठबन्धनलाई राप्रपा र नेपकिपाको साथ मिल्ने सम्भावना लगभग छैन । विवेकशीलले साथ दिंदा माधव नेपाल पक्षमा कम्तिमा ८ जना हुनुपर्छ ।
बागमतीमा कसैको पनि बहुमत नपुग्ने अवस्था आउन सक्छ । यस्तो अवस्थामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले अष्टलक्ष्मी शाक्य नै मुख्यमन्त्री रहने, फेरि बहुमतको सरकार गठनको आव्हान हुने र त्यो बन्न नसके मध्यावधि चुनावमा जान सक्छ । अर्को वर्ष मंसिरमा हुनुपर्ने चुनाव बागमतीमा वैशाखमै हुनसक्ने परिस्थिति विकास हुँदै गएको छ ।