काठमाडौं, ८ भदौ । नेकपा एमाले फुटेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको साथ छाडेका नेताहरु स्थायी कमिटी बैठकमा सहभागी भएका छन् । स्थायी कमिटी बैठकमा माधव नेपालसँग लामो सहकार्य गरेका नेताहरु पुगेका हुन् ।
बैठकमा एमालेका पूर्व कार्यवाहक महासचिव समेत रहेका अनुशासन समितिका प्रमुख पदेन स्थायी कमिटी सदस्य अमृतकुमार बोहरा पनि सहभागी छन् । बोहरा माधव नेपालसँग लामो सहकार्य गरेका नेता हुन् । तर, उनले पार्टी विभाजनमा नेपाललाई साथ दिएनन् ।
एमाले उपाध्यक्ष भीम रावल पनि बैठकमा सहभागी भएका छन् । रावलले एमाले विभाजन भई दर्ता प्रक्रियामा रहेको पार्टीको विधान नै लेखेको माधव नेपालले खुलाइसकेका छन् । तर, उनले नेपाललाई अन्तिम समयमा साथ दिएनन् ।
उपाध्यक्ष समेत रहेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य पनि बैठकमा पुगेकी छिन् । उनी ओलीका कटु आलोचक मानिन्थिन् ।
उपाध्यक्ष युवराज ज्ञवाली पनि बैठकमा पुगेका छन् । ज्ञवाली नेपालका विश्वासपात्र मानिन्थे । तर, उनले विभाजनमा साथ दिएनन् ।
उपमहासचिव घनश्याम भुसाल पनि बैठकमा पुगेका छन् । उनले एमाले विभाजन भई दर्ता प्रक्रियामा रहेको दलको डकुमेन्ट नै तयार गरेका थिए । तर, भुसालले ओलीलाई साथ दिएर धेरैलाई आश्चर्यमा पारे ।
सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य पनि माधव नेपालको साथमा गएनन् । तीनैजना एमाले बैठकमा सहभागी छन् । स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्त पनि बैठकमा सहभागी छन् । पाण्डे नवौं महाधिवेशनमा माधव नेपालको खेमाबाट महासचिवका उम्मेदवार थिए । पन्त माधव नेपालका विश्वासपात्र मानिन्थे ।
माधव नेपालको साथ छाडेका नेताहरु
भीम रावल, उपाध्यक्ष
अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष
युवराज ज्ञवाली, उपाध्यक्ष
घनश्याम भुसाल, उपमहासचिव
गोकर्ण बिष्ट, सचिव
योगेश भट्टराई, सचिव
भीम आचार्य, सचिव
सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य
रघुजी पन्त, स्थायी कमिटी सदस्य
अमृतकुमार बोहरा, पदेन स्थायी कमिटी सदस्य