काठमाडौं, ८ भदौ । सामाजिक विकास मन्त्रालय वाग्मती, प्रदेश अन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन इकाई, गजुरी, धादिङमा कार्यरत सव–इजिनियर बिनोद सापकोटालाई अख्तियारले मुद्दा दायर गरेको छ ।
सव–इजिनियर बिनोद सापकोटालाई खेलकुद मैदान निर्माण सम्पन्न गरी सो कार्यको लागि धरौटी राखेको रकम फिर्ता लिन जाँदा सेवाग्राहीसँग निर्माण सम्पन्न गरिदिने भन्दै २० हजार घुस माग गरेको उजुरीको आधारमा अख्तियारले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।
निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई अनुसन्धान गर्दा सापकोटाले खेल मैदान निर्माण आयोजनाको धरौटी राखेको रकम फिर्ता दिनको लागि सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको प्रमाण पुष्टि भएको थियो ।
सापकोटामाथि कानुन बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।