काठमाडौं, भदौ ९ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का यूरोप क्षेत्रीय संयोजक नारायण आचार्यले आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । आचार्यले आगामी अक्टोबरमा हुने एनआरएनएको दशौं विश्व सम्मेलनमा नेपालमा ‘एनआरएनए अस्पताल’ बनाउने योजनासहित आइसीसी सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
सन् २०१९–२०२१ कार्यकालमा यूरोप क्षेत्रीय संयोजकका रुपमा निर्वाह गरेको भूमिका र एनआरएन अस्पताल बनाउने योजनासहित आचार्यले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
सन् २००६ देखि एनआरएन अभियानमा सक्रिय आचार्यले संघले नेपालमा विभिन्न क्षेत्रमा लगानी गरे पनि स्वास्थ्य क्षेत्रमा भने अहिलेसम्म लगानी नभएकाले अस्पताल निर्माणको एजेण्डा अघि सारेको बताए । कोभिड महामारीका बेला यूरोपसहित विभिन्न क्षेत्र र देशबाट मातृभूमिका लागि स्वास्थ्य सामग्री सहयोग गरेपनि उचित उपचार र सेवा नपाउँदा हजारौं नेपालीले ज्यान गुमाउनु परेको आचार्यको बुझाइ छ ।
एनआरएन अभियानमा झण्डै डेढ दशक बिताएका आचार्यले संस्थाको सुधार आवश्यक रहेको बताए । आर्थिक पारदर्शितालाई पनि उनले प्राथमिकताका साथ उठाएका छन् । संस्थालाई जुन रुपमा अगाडि बढाउनुपर्ने हो त्यसो हुन नसकेको आचार्यको अनुभव छ ।
सचिव पदमा उम्मेदवारी घोषणा गरेका आचार्यले आफू सचिव पदमा निर्वाचित भएमा गैरआवासीय नेपाली नागरिकता र सम्पत्तिको हक स्थापित गर्ने मुद्दालाई निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बाग्लुङ बढीगाडमा जन्मिएका आचार्य नेपालमा रहँदा पनि राजनीतिक तथा सामाजिक काममा सक्रिय थिए । लोकतान्त्रिक विचार अँगाल्ने आचार्यले सन् २००६ मा नेदरल्याण्ड्स पुगेपछि पनि त्यसलाई निरन्तरता दिए । नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड्स र गैरआवासीय नेपाली संघ नेदरल्याण्ड्सका संस्थापक आचार्यले नेदरल्याण्ड्समा नेपाली राजदूतावासको अभावमा नेपालीहरुले झेल्नु परेको समस्या समाधानका लागि मोबाइल पासपोर्टको अवधारणा अघि सारेका थिए । करिव दुई हजार नेपाली बसोबास गर्ने नेदरल्याण्ड्समा खासगरी अध्ययनका लागि पुग्ने विद्यार्थीहरुका लागि त आचार्य अभिभावक जस्तै हुन् ।