Logo

एक खर्बले बढ्यो रेमिटेन्स



काठमाडौं, भदौ ९ । अघिल्लो वर्षको तुलनामा करिब एक खर्ब रूपैयाँले रेमिटेन्स बढेको छ । कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिटेन्स आप्रवाह भने वृद्धि भएको हो। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ मा रोजगारीका लागि बिदेसिएका नेपालीले नौ खर्ब ६१ अर्ब पाँच करोड रूपैयाँ रेमिटेन्स पठाएका छन्। अघिल्लो आर्थिक वर्ष आठ खर्ब ७५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।

अघिल्लो वर्षको तुलनामा गत वर्ष ९.८ प्रतिशतले रेमिटेन्स वृद्धि भएको हो। कोरोना महामारीको बेला वैदेशिक रोजगारीमा जानेको संख्यामा गिरावट आउनुको साथै गन्तव्य मुलुकसमेत महामारीबाट प्रभावित भएपछि रेमिटेन्समा गिरावट आउने विज्ञहरूको अनुमान थियो।

यस्तो अनुमान गर्नुको कारण आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा रेमिटेन्स आप्रवाहमा केही गिरावट आउँदा पनि हो। राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५/७६ को तुलनामा २०७६/७७ मा करिब चार अर्ब रूपैयाँले रेमिटेन्समा गिरावट आएको थियो। आर्थिक वर्ष २०७६/७७ को अन्तिमतिर (चैतपछि) नेपाल कोरोना महामारीबाट प्रभावित हुन थालेको हो। त्यसलगत्तै नेपालीहरू रोजगारीका लागि जाने गन्तव्य मुलुक पनि महामारीबाट प्रभावित हुने क्रम सुरु भएको थियो।

आर्थिक वर्ष २०७५/७६ मा आठ खर्ब ७९ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो । आर्थिक वर्ष २०७७/७८ मा भित्रिएको भित्रिएको रेमिटेन्स अहिलेसम्मकै बढी हो। विज्ञहरू महामारीमा रेमिटेन्सको वृद्धि हुनुमा हुन्डीको कारोबार रोकिनुलाई मुख्य कारण ठान्छन्। हुन्डीको कारोबार रोकिनुबाहेक महामारीको बेला गन्तव्य मुलुकमा रहेका नेपालीको फजुल खर्च नियन्त्रण हुनु र विलासिताका सामान खरिदमा कमी आउनुलाई पनि रेमिटेन्स वृद्धिको आधार मानिएको छ।

विज्ञहरूले आगामी दिनमा समेत हुन्डीको कारोबार रोक्न सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिएका छन्। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चालु आर्थिक वर्षदेखि रेमिटेन्स बैंकमा जम्मा गरे एक प्रतिशत बढी ब्याज पाइने घोषणा गरेको छ। रेमिटेन्सले नेपालमा गरिबी घटाउन मदत गरिरहेको छ भने सहरीकरणको विस्तार तथा निजी विद्यालय र बैंक तथा वित्तीय संस्था सञ्चालनमा पनि उत्तिकै योगदान पुर्‍याइरहेको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot