काठमाडौं, ९ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि प्रसाद सापकोटाको भूमिकालाई लिएर तिव्र आलोचना गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सभामुख सापकोटाले साझा व्यक्तित्वको भूमिका खेल्न नसकेको आरोप लगाए ।
उनले भने,‘उहाँ एमालेविरुद्धको षड्यन्त्रमा सामेल हुनुहुन्छ । यो धेरै गम्भीर कुरा हो । उहाँ सभामुखको आसनमा निश्पक्ष बन्न सक्नुभएन । उहाँ मर्यादामा बस्न सक्नुभएन । यो लोकतन्त्र र संसदीय मर्यादाको लागि दुःखद् कुरा हो ।’ एमालेले १४ जना सांसदलाई गरेको कारबाही अहिलेसम्म प्रक्रियामा नलगेको पनि उनको आरोप थियो ।
उनले सभामुखलाई सूचना टाँस्ने र खबर पठाउने मात्रै अधिकार भएको पनि सम्झाए । उनले सभामुखले भदौ १ गतेदेखि आजको दिनसम्म आलटाल गरेको पनि गुनासो पोखे । उनले भने,‘सभामुख हिजो त दाँत टाल्न जानुभएछ, मेरो शुभकामना छ उहाँको दाँत राम्रोसँग टालियोस ।’