Logo

मध्यरातमा विजय चौथाइवालेसँग विष्णु पौडेलको त्यो भेट



काठमाडौं, ९ भदौ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल मध्यराति भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई होटलमै भेटेर फर्किए । चौथाइवाले बसेको होटलमै पुगेर उनले महत्वपूर्ण कुराकानी गरे ।

पौडेल र चौथाइवालेबीच २ घन्टा लामो भेटवार्ता भयो । यो भेटलाई गोप्य नै राखिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर चौथाइवाले गत हप्ता आएका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शिर्ष नेतासँग भेटवार्ता गरेका थिए । उनले सरकारका केही मन्त्री र विभिन्न दलका प्रभावशाली नेताहरुसँग पनि छलफल गरे ।

चौथाइवालेसँग पौडेलले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे महत्वपूर्ण कुराकानी गरेको बुझिएको छ । पौडेलकै निम्तोमा गत वर्ष पनि चौथाइवाले नेपाल भ्रमणमा आएका थिए । दुवैबीच सुमधुर सम्बन्ध छ ।

नेकपा एमाले विभाजन भई नयाँ घटना विकास हुँदा चौथाइवाले नेपाल आए । उनी विगतमा पनि नेकपा विभाजनको संघारमा पुग्दा आएका थिए ।

हिन्दुत्वको मुद्दालाई प्राथमिकतामा राखेर भूमिका निभाउँदै आएका चौथाइवालेको नेपाल भ्रमणलाई अर्थपूर्ण मानिएको छ । उनले चाहेजस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिन्दुत्वको मुद्दा उठाइरहेका छन् । यसबीच विष्णु पौडेलको उनीसँगको भेट निकै महत्वपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्