Logo

सुरक्षा चुनौती बढेको भन्दै काबुल विमानस्थलबाट टाढा रहन अमेरिका र बेलायतको आग्रह



एजेन्सी, १० भदौ । अमेरिका र बेलायतले अफगानिस्तानमा सुरक्षा जोखिम बढेको भन्दै आफ्ना नागरिकलाई काबुल विमानस्थलबाट टाढा रहन आग्रह गरेका छन् । हजारौँ मानिसहरु अझै पनि विमानस्थलको बाहिर र भित्र अफगानिस्तान छोड्न चाँहेर विमान पर्खिएर बसिरहेका बेला दुवै देशले बुधबार अबेर सुरक्षा चुनौति सम्बन्धी सूचना प्रकाशित गरेका हुन् ।

अगस्ट १५ मा अफगानिस्तान तालिबानको कब्जामा गएयता काबुलबाट ८२ हजार भन्दाबढी मानिसको उद्धार गरिइसकेको छ । अमेरिकाको विदेश मन्त्रालयले बुधबार जारी गरेको सूचनामा काबुल विमानस्थलको एबी गेट, इस्ट गेट र नर्थ गेटमा पर्खिरहेकाहरुलाई तत्काल त्यहाँबाट अन्यत्र जान भनिएको थियो ।

त्यसअघि बेलायतले सोही प्रकृतिको सूचना जारी गरेको थियो । बेलायतले सुरक्षित स्थानमा भएर अर्को सूचना पर्खिन भनेको हो । अमेरिका र बेलायतले सुरक्षा चुनौतिबारे कुनै थप जानकारी भने दिएका छैनन् ।
पछिल्लो २४ घण्टामा अमेरिकाले व्यवस्थापन गरेका विमानमार्फत १९ हजार मानिसको उद्धार भएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot