Logo

अपांगमैत्री पर्यटनमा लगानी कम



काठमाडौं, भदौ ११। नेपालको हस्पिटालिटी क्षेत्रमा पहुँचयोग्य पर्यटनका लागि लगानी कम भएको एक अध्ययनले देखाएको छ । नेपालका होटेल व्यवसायीहरू सुलभ पहुँचसम्बन्धी पूर्वाधारमा जानकार भए पनि लगानी भने कम गरेको अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)को अध्ययनले देखाएको छ ।

अपांगमैत्री पर्यटन प्रवर्द्धनका लागि होटेल तथा सेवामा लगानी गर्न सके आर्थिक वृद्धिमा समेत सुधार हुन सक्ने आईएफसीले उल्लेख गरेको छ । ‘सबैका लागि खुला स् नेपालका होटेलहरूमा अपांगता भएका व्यक्तिहरूको पहुँच’ सम्बन्धी सर्वेक्षणको प्रतिवेदन बुधवार सार्वजनिक गर्दै आईएफसीले पर्यटन क्षेत्रमा सुधार गर्दै अर्थतन्त्र उकास्न अपांगमैत्री पर्यटन प्रवर्द्धन आवश्यक देखिएको निष्कर्ष निकालेको छ ।

आईएफसीले उक्त अध्ययनका लागि नेपालका प्रमुख शहरका ९० ओटा तारे होटेल र त्यसमा संलग्न उद्यमी÷व्यवसायीलाई समावेश गरेको थियो । उक्त सर्वेक्षणमा सहभागी भएका ९५ प्रतिशत होटेल व्यवसयीले पहुँचयोग्य पर्यटनको अवधारणाबारे जानकार रहे पनि पहुँचयोग्य पर्यटन बजार विस्तार गर्न लगानी भने नगरेको धारणा राखेका छन् । उक्त सर्वेक्षणअनुसार हाल सञ्चालनमा रहेका अधिकांश होटेलमा अपांगता भएका व्यक्तिहरूको आवतजावतका लागि लिफ्ट र भिरालो र्‍याम्प मात्रै रहेको, १७ प्रतिशत होटेलले दृष्टिविहीन पाहुनाको सहयोगका लागि संकेत चिह्न राखेको पाइएको छ ।

यसैगरी बाँकी ७४ प्रतिशत होटलले ढोका बाहिर वा कोठाको निर्देशिका पुस्तकमा ब्रेल लिपि वा संकेत चिह्नको प्रयोग गरेका छैनन् । अध्ययनले ९ प्रतिशत होटेलका कर्मचारीहरू पहुँचयोग्य पर्यटन र विशिष्ट क्षमता भएका पाहुनाबारे प्रशिक्षित रहेका र ३३ प्रतिशत होटेलमा अपांग अतिथिका लागि अतिरिक्त ह्वीलचेयरको व्यवस्था रहेको देखाएको छ । नेपालका अधिकांश होटेलले व्यावसायिक प्रयोजनका लागि पुराना संरचना प्रयोग गर्ने गरेको, यस्ता संरचना दुर्गम स्थानमा रहेका र तिनमा अपांगमैत्री सेवासुविधासमेत नहुने गरेको पाइएको छ ।

पछिल्लो समयमा सुलभ, पहुँचयोग्य वा समावेशी पर्यटनको अवधारणाले विश्वव्यापी मान्यता पाएको छ । आईएफसीको भुटान, बंगलादेश र नेपाल मामिला हेर्ने देशीय निर्देशक वेन्डी वार्नरले भएका पर्यटन गन्तव्यहरूमा अपांग, अशक्त वा अरू सबै उमेरसमूहको पहुँच विस्तार गर्नसके मात्रै पनि पर्यटन क्षेत्रको दिगो विकास हुने बताएकी छन् । उनका अनुसार सुलभ पर्यटनले मानव अधिकारको सुनिश्चिततासँगै व्यावसायिक महत्त्व पनि राख्नेछ ।



प्रतिक्रिया दिनुहोस्