Logo

महाधिवेशन प्रक्रियामा देखिएको समस्या समाधान गर्न पहल



काठमाडौँ, ११ भदौ: नेपाली काँग्रेसको संस्थापन इतर समूहले महाधिवेशन प्रक्रियामा देखिएको व्यावहारिक कठिनाइ समाधानका लागि पहल गर्ने भएको छ । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आज बसेको संस्थापन इतर समूहको बैठकले तोकिएकै मितिमा अधिवेशन गर्ने वातावरण बनाउन पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चाकर्मीसँग कुरा गर्दै काँग्रेस नेता डा मीनेन्द्र रिजालले महाधिवेशनका लागि देखिएको व्यावहारिक कठिनाइ समाधानका लागि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवासँग आजै छलफल गर्ने जानकारी दिए ।

“अधिवेशन प्रक्रियामा केही व्यावहारिक कठिनाइ आएका छन्, उक्त कठिनाइलाई समाधान गर्नुपर्छ, जिल्ला सभापतिले राखेका मागलाईसमेत नेतृत्वले गम्भीररुपमा लिनुपर्छ”, उनले भने ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री सिंह, नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. शेखर कोइराला, डा रिजाललगायत उपस्थित थिए ।-रासस



प्रतिक्रिया दिनुहोस्