काठमाडौं, ११ भदौ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सत्ताका लागि नेकपा एमाले नछाड्ने भएकी छिन् । उनले पार्टी विभाजनको पक्षमा विगतमा पनि नभएको र भविष्यमा पनि नहुने बताएकी छिन् ।
मुख्यमन्त्री पद गएपनि रहेपनि एमालेमै रहने शाक्यले स्पष्ट पारिन् । उनले विगतमा पनि आफू असन्तुष्टिका बाबजुद विभाजनको पक्षमा नगएको उल्लेख गरिन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बिहिबार सार्वजनिक रुपमा एमाले छाडेर आएमात्र सम्झौता हुने भन्दै अष्टलक्ष्मी शाक्यप्रति संकेत गरेका थिए । बागमती प्रदेशमा एमाले विभाजनसँगै शाक्य अल्पमतमा परिसकेकी छिन् । उनी मुख्यमन्त्री बनेपछि एमाले छाडेर नेकपा एसमा जाने चर्चा समेत चलेको थियो ।
१०९ सदस्यीय बागमती प्रदेश सभामा नेकपा एमालेको सभामुखसहित ५६ सांसद थिए । बहुमतका लागि ५५ सांसद आवश्यक पर्दछ । प्रदेशसभाका केही सांसदले एमाले त्यागिसकेकाले मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छिन् । उनले नेकपा एसमा गएमा गठबन्धनबाट बहुमत बनाउन सक्छिन् । तर, पदका लागि एमाले नछाड्ने स्पष्ट पारेकी छिन् ।
शाक्य लामो समययता माधवकुमार नेपाल पक्षधर थिइन् । तर, उनी र पति अमृतकुमार बोहरा विभाजनको विपक्षमा उभिएर एमालेमै रहे ।
उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले डोरमणि पौडेललाई ब्याक गराएर मुख्यमन्त्री बनाए । पद पाएर माधव नेपालको साथ छाडेको भन्दै उनको आलोचना समेत भयो ।