काठमाडौं, भदौ १२ । उपत्यकाबासीले थुप्रिएको फोहोर तत्काल उठान माग गरेका छन् । उपत्यकामा फोहोर थुप्रिन थालेको एक महिना बित्न लाग्दा पनि फोहोर उठ्न सकेको छैन ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सिसडोल ल्यान्डफिल साइटसम्म जाने बाटो सफा हुन अझै १५ दिन लाग्ने बताउँदै वर्षात्ले गर्दा फोहोर ओसार्ने बाटोमा पहिरो गएकाले समस्या भएको बताए । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले फोहोर उठ्ने निश्चित नभएको बताए । उनले अबको तीन दिनपछि पनि फोहोर उठाउन नसकिए आगामी दिनमा उत्पन्न हुने फोहोर व्यवस्थापन गर्ने स्थानको अभाव हुने बताए ।
उपत्यकाको फोहोर व्यवस्थापनको उद्देश्यले निर्माण भइरहेको बन्चरेडाँडा ल्यान्डफिल साइटको निर्माणमा तोकिएको समयभन्दा दुई वर्ष ढिलाइ भएकाले उपत्यकाको फोहोर व्यवस्थापन गाह्रो भइरहेको बताए । तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोराले बन्चरेडाँडाको ल्यान्डफिल साइट निर्माणमा भइरहेको ढिलाइका बारेमा आफू अनभिज्ञ रहेको बताए ।
वर्षायामको समय र कोरोना सङ्क्रमणको उच्च जोखिम रहेको समयमा फोहोरको थुप्रो लाग्दा महामारी फैलिने चिन्ता थपिएको छ । उपत्यकाको फोहोर व्यवस्थापनका लागि धादिङको बञ्चरेडाँडामा ल्यान्डफिल साइट निर्माण भइरहेको छ । लुम्बिनी–कोसी–न्यौपाने जेभीले ३५ करोड रुपियाँको लागतमा बञ्चरेडाँडामा ल्यान्डफिल साइट निर्माण गरिरहेको छ । शिवा तामाङले आजको गोरखापत्र दैनिकमा खवर लेखेका छन् ।