Logo

ओलीलाई प्रधानमन्त्रीबाट हटाउने ‘ग्रान्ड डिजाइन’ कुन विदेशी शक्तिको ?



काठमाडौं, १२ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई विदेशी शक्तिको ग्रान्ड डिजाइनबाट प्रधानमन्त्रीबाट हटाएको बताएका छन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई ग्रान्ड डिजाइनको मतियार आरोप लगाए ।

‘उनीहरुले त्यो तहको ग्रान्ड डिजाइन गर्न सक्नु भएन कसैले लगायो,’ ऋषि धमलाले प्रचण्ड र माधव नेपालले ग्रान्ड डिजाइन गरेर हटाएका हुन् भन्ने प्रश्नमा ओलीले भने, ‘जुधाउने अरु नै छन् ।’
ओलीले ग्रान्ड डिजाइनको विषय उठाएलगत्तै त्यसबारे चासो बढेको छ । ओलीविरुद्ध कुन कुन विदेशी शक्तिले ग्रान्ड डिजाइन गरे ? उनको संकेत कुन विदेशी शक्तिविरुद्ध हो ?

नेपालको राजनीतिमा भारत र चीनको निकै चसो छ । अमेरिका र युरोपेली युनीयनको पनि चासो छ । भारतसँग ओलीको लामो समय सम्बन्ध चिसिएको थियो । कालापानी, लिम्पियाधुरा र लिपुलेकको विषयले समस्या आयो । चुच्चे नक्शाको विषयले सम्बन्ध केही बिग्रियो । तर, पछि भारतसँग विभिन्न तहमा संवाद सुरु भयो ।

ओलीले भारतका विदेश सचिव, गुप्तचर निकायका प्रमुख, सेनाप्रमुख र सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुखसँग केही महिनाको अन्तरालमा भेट गरे । उनको भारतसँग सम्बन्ध निकै सुमधुर भएको देखियो । ओलीलाई प्रधानमन्त्री हुँदा दक्षिणी छिमेकीबाट बलियो साथ रहेको सन्देश गयो ।

चिनियाँ अधिकारीहरुको ओलीको कार्यकालमा ओहोरदोहोर बाक्लियो । चीनका आयोजनाहरु अगाडि बढे । यतिसम्मकी नेकपा विवाद मिलाउन पनि चीनको भूमिका खुलेआम देखियो । तर, ओलीभन्दा प्रचण्ड र माधव नेपालप्रति चीन सकारात्मक देखिएको संकेतहरु मिले ।

ओलीले आफ्नो कार्यकालमा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्द्र कर्पोरेशन एमसीसी पारित गराउन खोजे । तर, सभामुख अग्निप्रसाद सापकोटोले संसदमा प्रस्तावलाई अगाडि बढाइदिएनन् । सभामुखसँग उनको टकराव पनि बढ्यो । तर, ओलीले एमसीसी रोक्न आफै रणनीतिक चार्तुयता देखाएको आशंकाहरु भए । उनीप्रति अमेरिका सशंकित भएको देखियो ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सबैभन्दा पहिले बधाई दिन अमेरिकी राजदूत रेन्डी बेरी नै पुगे । बेरीको सक्रियता ह्वात्तै बढ्यो । यसलाई अर्थपूर्ण मानिएको छ ।

ओलीले हिन्दुत्वको मुद्दा उठाइरहे । यसप्रति यूरोपेली युनीयनसहित पश्चिमा शक्ति सशंकित भए ।

यी घटनालाई केलाउँदा ओली कुन कुन विदेशी शक्तिको तारोमा परे विश्लेषणको विषय हुन सक्छ । उनले केही आक्रामक कदमहरुले विदेशी शक्तिलाई चिढ्याएकोमा कुनै आशंका छैन । नेपालको राजनीतिमा निकै चासो राख्ने शक्तिहरुले ओलीलाई हटाउन भूमिका खेले भन्ने उनकै आरोप यसकारण पनि आएको हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot