Logo

लयमा फर्किने प्रयत्नसँगै तेस्रो लहरको त्रासमा उद्योगी



विरगञ्ज, भदौ १३। कोरोना संक्रमणको दुईपटकको लहरबाट थलिएका बारा–पर्साका उद्योगहरू यतिबेला पुरानो लयमा फर्किने प्रयत्नमा छन् । कोरोनाबाट प्रभावित उद्यम व्यापार स्वाभाविक गतिमा ल्याउने प्रयासमा लागेका उद्यमीहरूलाई पुनःसम्भावित तेस्रो लहरको त्रासले भने छोडेको छैन ।

कोरोनाको तेस्रो लहर आएमा फेरि बन्दाबन्दी वा निषेधाज्ञा लगाइने र व्यापार व्यवसाय प्रभावित हुने चिन्ताले उद्योगीहरूलाई सताएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् ।

कोरोनाको दोस्रो लहरमा लगाइएको निषेधाज्ञामा उद्योगको सञ्चालन तुलनात्मक सहज भए पनि बजार बन्द भएकाले समस्या भोगेको स्मरण गर्दै अध्यक्ष गुप्ता भन्छन् ‘निषेधाज्ञा लागू भएपछि उत्पादन भए पनि बजारमा मालसामान पठाउन सकिँदैन । उत्पादन गोदाममै थन्क्याउने अवस्था आउँछ ।’ बजार बन्द भएपछि नयाँ माग र उत्पादन त परको कुरा, विक्री नभएपछि तयारी भइसकेको उत्पादनसमेत गोदाम राख्नुपर्ने उद्योगीहरू बताउँछन् । यसले समग्र अर्थतन्त्रलाई नै बन्द बनाउने गुप्ताले बताए ।

बजारबाट माग नै नआएपछि कच्चा पदार्थको आयात र तयारी मालसामानको ढुवानीमा गरिएको सहजीकरणले पनि अपेक्षित परिणाम नदिने उद्यमी राजेश क्यालको भनाइ छ ।

कोरोनाको पहिलो लहरको तुलनामा दोस्रोपटक ढुवानी सहज भए पनि बजार बन्द भएकाले अधिकांश उत्पादन बन्द भएको उद्यमीहरू बताउँछन् । त्यसबेला मुख्य उत्पालन केन्द्र बारा–पर्साका अत्यावश्यकीय उत्पादनसमेत २०र२५ प्रतिशतमा सीमित भएको उद्योगीहरूले बताए ।

त्यसताका देशव्यापी बन्दाबन्दी नै नभए पनि उस्तै प्रकृतिको निषेधाज्ञा लगाइएको थियो । एकाधबाहेक अधिकांश जिल्लामा निषेधाज्ञा हुँदा व्यापार व्यवसाय ठप्पजस्तै थियो ।

अहिले बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योग क्षमताको ७० देखि ८० प्रतिशतमा चल्न थालेका छन् । कोरोना महामारी रोक्न लगाइएको पहिलोपटकको बन्दाबन्दीपछि पनि बल्लतल्ल बौरिएको उद्योग व्यापार दोस्रो लहरको मारमा परेको थियो । आजको आर्थिक अभियान दैनिकमा ओमप्रकाश खनालले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot