Logo

नेकपा एसमा मन्त्रीका आकांक्षी धेरै



काठमाडौं, भदौ १३। प्रधानमन्त्री शेरबहादुर देउवा चाँडै सरकार विस्तार गर्ने तयारीमा छन्। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पनि सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ। तर सो पार्टीका सबैजसो सांसदले सरकारमा जाने इच्छा देखाएपछि नेता नेपाललाई अप्ठेरो परेको छ। गठबन्धनमा आबद्ध दलहरूबीचको भागबन्डाबाट प्राप्त मन्त्रालय संख्या थोरै भएकाले समस्या आएको हो। आकांक्षी धेरै र मन्त्रालय थोरै हुँदा कसरी मिलाएर लाने भन्ने गृहकार्यमा नेता नेपाल लागेका छन्।

नयाँ दल गठनमा नेपाललाई हरतरहले सहयोग गरेका नेताहरूले मन्त्री बन्ने इच्छा व्यक्त गरेका छन्। एमालेमा अध्यक्ष केपी शर्मा ओलीको पेलानमा परेर सरकार र पार्टीमा कुनै जिम्मेवारी नपाएका नेता–कार्यकर्ता तथा सांसद अहिले नेपालको पार्टीमा छन्। उनीहरूलाई कुनै न कुनै जिम्मेवारी दिनुपर्ने बाध्यतामा नेता नेपाल छन्। तर, थोरैलाई मात्र अवसर दिन सकिने अवस्थामा पार्टी रहेको नेपालनिकट नेताहरूले बताएका छन्। नेकपा एसको भागमा ६ देखि ७ वटासम्म मन्त्रालय पर्ने भएपछि कसकसलाई मन्त्री बनाउने भन्ने दबाब नेता नेपालमा पर्नेछ। नेपाल आफैं संसदीय दलका नेता हुने भएकाले खासै समस्या हुँदैन।

नेपालले नेता मुकुन्द न्यौपानेलाई तत्काल सरकारमा पठाइहाल्ने सम्भावना देखिन्छ। कल्याणीकुमारी खड्का संसदीय समितिमा रहेका कारण उनलाई त्यही नै राख्ने सोचमा नेपाल देखिन्छन्। सांसदहरू विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्रीले पनि सरकारमा जान चाहेका छन्। सरकारमा जान चाहनेमा निरादेवी जैरु र प्रेमबहादुर आले पनि छन्। ओलीले मन्त्रीबाट हटाएपछि रुष्ट आले नेपाल समूहमा आएका हुन्। नेपाल समूहको प्रवक्ताकै भूमिकामा रहेका मेटमणि चौधरीले पनि सरकारमा सहभागी हुने मन गरेका छन्। त्यस्तै सरला यादवले उपसभामुखमा दाबी गरिरहेकी छन्। भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन पनि कुनै न कुनै समितिको सभापति बन्न चाहिरहेका छन्। कृष्णकुमार श्रेष्ठले पनि मन्त्रीको दाबी गरिरहेका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot