काठमाडौं, १३ भदौ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पाँच वर्ष अघि भारतीय जनता पार्टीका तत्कालीन अध्यक्ष अमित साहलाई नयाँ दिल्लीमा भेटेका थिए । त्यतिबेला उपप्रधानमन्त्री रहेका निधिले साहसँग गरेको भेट महत्वपूर्ण थियो । विदेशी नेताहरुसँग सायदै भेट्ने साहले निधिसँग भेट्न तयार हुनुलाई चासोका साथ हेरिएको थियो । तर, भाजपा अध्यक्षसँगको भेटपछि निधिले धर्मनीरपेक्षताको पक्षमा खुलेरै बोल्न थाले । यसले भाजपा उनीसँग रुष्ट भएको थियो । हिन्दुत्वको मुद्दामा केन्द्रित दलका अध्यक्षलाई भेटेपछि निधिको फरक बोली आएको थियो ।
निधिले पार्टीको कार्यक्रमहरुमा पनि हिन्दुराष्ट्र कायम गर्ने र धर्मनीरपेक्षता हटाउने मुद्दाको विपक्षमा बोलेका थिए । उनले भक्तपुरमा विपक्षमा अभिव्यक्ति दिंदा स्थिति तनावग्रस्त भएको थियो । तर, निधिले धर्मलाई राजनीतिमा ल्याउन नहुने अभिव्यक्ति दिइरहे ।
धनुषाबाट चुनावमा पराजित हुँदा निधिले हिन्दु धर्मका पक्षधरहरुले असहयोग गरेको बुझेका थिए । राजेन्द्र महतो चुनावी क्षेत्र नै परिवर्तन गरेर निधिविरुद्ध चुनाव लड्न पुगेका थिए । जनकपुर पर्ने उनको चुनावी क्षेत्रमा धर्मको विशेष प्रभाव छ ।
अहिले नेपाली काँग्रेसको सभापतिको उम्मेदवारी घोषणा गर्दा निधिले धर्मगुरु र पूजारीहरुको आशिर्वाद लिए । पशुपतिनाथ, जनकपुर, डोलेश्वरलगायतका पूजारीहरुबाट आशिर्वाद लिएका थिए । यसलाई उनको धर्मास्त्रका रुपमा बुझ्न थालिएको छ । निधिले धर्मको मुद्दालाई काँग्रेस महाधिवेशनमा उठाउने संकेतहरु गरेका छन् । काँग्रेसभित्र यो मुद्दा जोडतोडले उठिरहेको छ । तर, नेतृत्वपंक्ति धर्मको मुद्दालाई राजनीतिमा ल्याउन चाहिरहेको छैन ।
विगतमा धर्मको मुद्दा उठाउने डा. सशांक कोइराला पनि ब्याक भएका छन् । शेखर कोइरालाले विगतमा बोलेपनि मौन छन् । शेरबहादुर देउवा र प्रकाशमान सिंह पनि मौन छन् । अब यही मुद्दा उठाउन निधि अगाडि सर्न खोजेको देखिदैछ ।
तर, निधिप्रति अझै हिन्दुत्वका पक्षधरले विश्वास गर्न सकेका छैनन् । उनको विगतको भूमिकाप्रति सशंकित छन् । हिन्दुत्वको मुद्दालाई उनले अवसरका रुपमा मात्र प्रयोग गर्न सक्ने आशंका हिन्दुवादीहरुमा छन् । काँग्रेसभित्रका हिन्दुवादीमा पनि त्यही आशंका छ ।
दक्षिणी छिमेकी भारतसँग सुमधुर सम्बन्ध रहेका निधिलाई भाजपाले भने पत्याइहालेको देखिदैन । भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमणको अन्तिम समयमा मात्र उनलाई भेटे । त्यो भेटले निधि केही परिवर्तन भने भएका छन् । त्यसकै परिणामस्वरुप उनी धर्मगुरुहरुको आशिर्वाद लिन थालेका छन् । तर, उनी खुलेर हिन्दुत्वको मुद्दा उठाइहाल्ने पक्षमा देखिएका छैनन् । यसकारण उनको धर्मास्त्र शक्ति सञ्चयका लागि मात्र हो मुद्दालाई उठाएर सम्बोधन गर्नका लागि होइन भन्ने सन्देश गइरहेको छ ।