Logo

अध्यक्ष हुँदै प्रधानमन्त्री बन्न माधव नेपालले पार्टी फुटाएको एमालेभित्र चर्चा



काठमाडौं, १३ भदौ । पाँच दशक संघर्ष गरेर बनाएको नेकपा एमालेलाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले किन फुटाए ? किन पार्टी विभाजनको कलंक बोक्न तयार भए ? यसबारे चासो भएपनि वास्तविकता खुल्न अझै समय लाग्ने देखिन्छ ।

माधव नेपालले एमाले बनाउन निकै संघर्ष गरेका छन् । निकै आलोचना खेपेका छन् । एमालेको महासचिव हुँदा उनीमाथि तत्कालीन राजा ज्ञानेन्द्रलाई दाम चढाएको देखि प्रधानमन्त्री बन्न नारायणहिटीमा नाम टिपाएको सम्म आरोप लाग्यो । विभिन्न आरोह अवरोहबीच व्यवस्थापकीय भूमिकाबाट माधव नेपालले एमालेलाई बलियो संगठन भएको पार्टी बनाएका थिए । तर, त्यही पार्टी उनले फुटाउने जोखिम मोलेका छन् ।

नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पार्टी विभाजनको आरोप लगाएका छन् । ओलीको अहंकार र निरंकुश कार्यशैली नै पार्टी विभाजनको मुख्य कारण भएको बताउँदै आएका छन् । यथार्थमा ओली र नेपालबीचको शक्तिसंघर्षले एमाले विभाजन भएको हो । ओलीलाई अध्यक्षबाट हटाउने नेपालको रणनीति थियो । तर, त्यो सफल भएन । नेपाललाई पनि एमालेमा कमजोर बनाउने या हटाउने ओलीको रणनीति देखियो । एकले अर्काको अस्तित्व स्वीकार नगर्दा एमाले विभाजन भयो ।

एमाले विभाजनमा ओलीको सर्वशक्तिमान बन्ने महत्वाकांक्षाबाट चालिएका कदम निकै जिम्मेवार थिए । त्यो सँगै माधव नेपालको अध्यक्ष बन्ने देखि फेरि सत्तारोहरण गर्ने महत्वाकांक्षाले पनि भूमिका खेल्यो ।

नेपालले पार्टी अध्यक्ष बन्नकै लागि एमाले विभाजन गरेको ओलीको आरोप छ । त्यो आरोपलाई बल पुग्नेगरी माधव नेपाल नेकपा एसको अध्यक्ष आफै बने । उनी संसदीय दलको नेता समेत बनेका छन् । यसलाई उनी भविष्यमा सत्तारोहण गर्ने पथमा बढेको संकेतहरु मिलेको छ ।

सत्ता गठबन्धन बन्दा माधव नेपाल चुनावी सरकारको प्रधानमन्त्री बन्ने भद्र सहमति भएको चर्चा छ । काँग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय निकायको चुनाव गरेपछि माधव नेपाललाई प्रधानमन्त्रीका लागि छाड्ने भद्र सहमतिको चर्चा छ । त्यसो हो भने आगामी असारसम्म नेता नेपाल प्रधानमन्त्री बन्ने सम्भावना रहन्छन् । प्रधानमन्त्री बन्नकै लागि माधव नेपालले पार्टी फुटाएको विषय एमालेभित्र उठेको छ ।

एमाले विभाजनपूर्व दोस्रो पुस्ताका नेताले माधव नेपाल प्रधानमन्त्री बन्ने अवस्था भए साथ दिने सम्म भनेका थिए । तर, देउवा नै प्रधानमन्त्रीका लागि अघि बढेपछि साथ छाडेका थिए ।

यसैगरी, नेकपा एसका अध्यक्ष माधव नेपालले दोस्रो पुस्ताका नेताले साथ दिएको भए नेतृत्व नै हस्तान्तरण गर्ने बताएका छन् । त्यसको जवाफमा एमाले सचिव योगेश भट्टराईले साथ दिनेमध्येकालाई अध्यक्ष बनाउन चुनौती दिए । नेपाल अध्यक्ष बन्नकै लागि पार्टी फुटाएको र प्रधानमन्त्री बन्ने आशामा समेत रहेको आरोप एमाले नेताहरुबाट लाग्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्