तनहुँ, १४ भदौ । बाघको छाला, खप्पर, हड्डी लगायतका अंग सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ब्यास नगरपालिका ५ पतेनीस्थित पक्की पुल नजिक बाख्रेतर्फ जाने कच्ची सडकबाट बाघको अवैध छाला, खप्पर, हड्डी लगायतका अंग सहित ३ जना शनिबार साँझ पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका ६ सिरुबारी बस्ने ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका १ ओखल्दी बस्ने ४० वर्षीय सन्जित गुरुङ र सोही नगरपालिका १ रतनपुर बस्ने ३२ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।
उनीहरुमध्ये अर्जुनको साथबाट २ थान बाघको छाला, बा।४९ प ५९२३ नम्बरको स्कुटर, १ थान मोबाइल र नगद १ हजार रुपैयाँ , सन्जितको साथबाट १ सय २२ वटा बाघको हड्डीहरु, ग.१८ प ५४११ नम्बरको मोटरसाइकल, १ थान मोबाइल र नगद २ हजार रुपैयाँ र सन्तोषको साथबाट बा।३५ प ५४५१ नम्बरको मोटरसाइकल, नगद ३ हजार ५ सय ८५ रुपैयाँ, १थान लाइटर र १ थान मोबाइल प्रहरीले बरामद गरेको बताइएको छ ।
सोही ठाउँस्थित सडकमा शंकास्पद गतिविधि गरिरहेका उनीहरुलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज र जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त अंगहरु सहित फेला पारी पक्राउ गरेको जानकारी दिएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला बन कार्यालय, दमौली तनहुँमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ ।