Logo

नेकपा एसको महासचिवसहित बागमतीमा मुख्यमन्त्री बन्ने पाण्डेको रणनीति



काठमाडौं, १४ भदौ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा रहेका नेताहरुमध्ये राजेन्द्र पाण्डेको निर्वाचन क्षेत्रमा पकड बलियो छ । पञ्चायतकालदेखि धादिङमा प्रभाव बनाउँदै आएका पाण्डेले यसपटक राजनीतिक जोखिम मोलेका छन् ।

नेकपा एमाले विभाजनमा माधव नेपाललाई धेरै हस्तीहरुले साथ छाड्दा राजेन्द्र पाण्डेले साथ दिए । उनी पार्टी दर्ता प्रक्रियामा पनि सक्रिय भएका थिए । २०५४ मा एमाले फुट्दा उनले निकै चार्तुयता देखाएर माधव नेपाललाई साथ दिएका थिए । यसपटक पनि उनले पार्टी विभाजनमा नेपाललाई नै साथ दिए ।

पार्टी विभाजनमा भूमिका खेलेका राजेन्द्र पाण्डे महासचिवका दाबेदार छन् । उनलाई वेदुराम भुसाल र आफ्नै गृहजिल्ला धादिङका नेता गंगालाल तुलाधरको चुनौती छ । तर, पाण्डेले महासचिवको दाबी गरेका छन् ।

पाण्डेले महासचिवसहित बागमती प्रदेशको मुख्यमन्त्रीको पनि दाबी गरेका छन् । अष्टलक्ष्मी शाक्य एमाले विभाजनसँगै अल्पमतमा परिसकेकी छिन् । भदौ २१ सम्म माधव नेपालको समूहमा कति प्रदेश सभा सांसद हुन्छन् टुंगो लागेपछि मुख्यमन्त्रीको भविष्यबारे पनि स्पष्ट हुन्छ ।

बागमती प्रदेशमा १०९ सांसदमध्ये नेकपा एमालेका ५६ जना सांसद छन् । उनीहरुको २१ भदौमा कित्ताकाट हुन्छ । यथास्थितिमा ओली समूहमा ३४ र नेपाल समूहमा २२ जना छन् । अष्टलक्ष्मी शाक्य नेपाल समूह छाडेर मुख्यमन्त्री बनेपछि परिस्थिति परिवर्तन भएको छ । नेकपा एसमा ५ जना मात्र खुलेका छन् । यो संख्या पनि शाक्यलाई अल्पमतमा पार्न पर्याप्त छ ।

बागमतीमा एमालेका ५६, माओवादी केन्द्रका २३, नेपाली काँग्रेसका २२, विवेकशीलका ३, नेमकिपाका २, राप्रपाका २ र स्वतन्त्र १ सांसद छन् ।

गठबन्धनको बहुमत पुग्न १० सांसद अनिवार्य हुनुपर्छ । बागमतीमा १० भन्दा बढी सांसद बनाउन माधव नेपाल सक्रिय भइसकेका छन् । राजेन्द्र पाण्डे झन् सक्रिय छन् । उनी मुख्यमन्त्रीका दाबेदार हुन् । १० सांसद नेकपा एसमा नगए पाण्डेको मुख्यमन्त्री बन्ने प्रयासमा धक्का पर्न सक्छ । त्यसपछि साना दल र स्वतन्त्र सांसद निर्णायक हुनेछन् । अष्टलक्ष्मीले नै साना दलको साथ लिएर सरकार बनाउने सम्भावना बलियो हुन्छ । तर, शाक्यलाई कुनै हालतमा मुख्यमन्त्रीमा रहन नदिन नेकपा एसका नेताहरु सक्रिय भएका छन् । कसैको पनि बहुमत नपुगे बागमतीमा अर्ली इलेक्सनको सम्भावना पनि छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot