काठमाडौं, १४ भदौ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले आफू अब कार्यकारी पोष्टमा नरहने घोषणा गरेका छन् । नयाँ दिल्लीबाट उपचार गरेर आज स्वदेश फर्किएका नेता खनालले विमानस्थमाल आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले अब पार्टीमा कार्यकारी भूमिका माग्ने नैतिक अधिकार आफूलाई नरहेको बताएका हुन् । तर, पार्टीले दिने जिम्मेवारी भने आफूले निर्वाह गर्ने उनको भनाई छ ।
त्यस्तै, नेता खनालले पार्टीमा ७० वर्षको मापदण्ड आफूले पालना गर्ने पनि बताए । सम्बोधनको त्रममा उनले भने,‘म उमेरले ७० वर्ष कटिसकेँ । मैले पार्टीमा कार्यकारी जिम्मेवारीको आशा लिएको छैन । पार्टीले मलाई के दिन्छ, के गर भन्छ, त्यसका लागि ठाउँ राखेको छु । तर, मेरो आफ्नो ठाउँबाट भने कार्यकारी पोष्ट माग गर्ने नैतिक अधिकार मलाई छैन ।’
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम