Logo

नेपालमा ‘कोकिन’को खपत बढ्दै



काठमाडौं, भदौ १५ । नेपालमा लागूऔषध ‘कोकिन’को खपत बढ्न थालेको छ । बोलिभिया, पेरुजस्ता मुलुकमा उत्पादन हुने कोकिनको प्रयोग पछिल्लो समय नेपालमा बढ्न थालेको हो ।

विदेशी तस्करहरूको गिरोहले ब्राजिलको साउपालो एयरपोर्ट हुँदै भारत र यूएईमार्फत नेपाल ल्याउने गरिएको लागूऔषध कोकिन अत्यन्तै महँगोमध्येको लागू पदार्थमा पर्छ ।

यो पदार्थ विगतमा भने नेपाल हुँदै भारत निर्यात हुने गरेको नेपाल प्रहरीको आँकडाले देखाउँछ । तर, पछिल्लो केही समययता भने यो पदार्थको बरामद घटेको तर नेपाली बजारमा नै खपत बढेको प्रहरी अधिकारी बताउँछन् ।

नेपाल प्रहरीको एक तथ्यांकले आर्थिक वर्ष २०७७÷७८ मा कोकिनको बरामद ९१ दशमलव ६ प्रतिशतले घटेको देखाएको थियो । तर आइतबार भने प्रहरीले एकै दिन विदेशी नागरिकहरूको समूहबाट करिब ९ करोड रुपैयाँ मूल्य पर्ने तीन किलो कोकिन बरामद गरेको थियो ।

यसअघि गत साउनमा पनि प्रहरीले एक किलो १२ ग्राम लागूऔषध कोकिनसहित गत १८ साउनमा नौ जनालाई पक्राउ गरेको थियो । ती सबै नेपाली नागरिक थिए ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोका अनुसार पछिल्लो समय नेपालका ठूला केही होटेल तथा ती होटेलमा हुने पार्टीहरूमा कोकिनको प्रयोग हुन थालेको पाइएको छ । यस्तै, केही रेस्टुरेन्टमा समेत कोकिनको प्रयोग हुने गरेको सूचना प्रहरीले पाएको छ भने केही उच्चस्तरका परिवारका भनिएका व्यक्तिहरूले समेत यसको प्रयोग गर्न थालेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

‘पहिले नेपालमा कोकिनको खपत थिएन, पछिल्ला दिनमा नेपाली बजारमा नै कोकिनको खपत भइरहेको सूचना छ । भयावह अवस्था त होइन तर प्रयोग बढेको देखिएको छ,’ ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) जीवन श्रेष्ठले भने ।

यो पदार्थको ओसारपसारमा मुख्य रूपमा प्रहरीले विदेशी नागरिकको संलग्नता रहने गरेको बताउँदै आउने गरेको छ । तर, पछिल्लो समय नेपाली नागरिकसमेत यसको प्रयोग र ओसारपसारमा संलग्न हुने गरेको पाइएको छ । नेपालीहरू भने पैसाको लोभमा यसको ओसारपसारमा लाग्ने गरेका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot