काठमाडौं, १५ भदौ । केही वर्ष अघि सम्म प्रमुख दलका नेताहरु शक्तिपीठ खुसुक्क घाउँथे । हिन्दु धर्मगुरुहरुसँग खुसुक्क भेट्थे । अहिले उनीहरु शक्तिपीठको दर्शन खुलाउन थालेका छन् । हिन्दु धर्मगुरुहरुको आशिर्वाद लिएको प्रचार गर्न थालेका छन् ।
नेताहरु आफूलाई गर्वका साथ हिन्दु भन्न थालेका छन् । जुन विमलेन्द्र निधिले गरे । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा महायज्ञ नै गरियो । आजकल आरजु देउवाको फेसबुक वालमा पूजाका तस्बिरहरु बढी देखिन थालेको छ ।
चाणक्यले भनेजस्तै नेताको विवाह पनि राजनीति हुन्छ र धर्म पनि राजनीति नै भन्दा अतियुक्त नहोला ।
आफूलाई नास्तिक भन्ने कम्युनिस्ट नेताहरु शक्तिपीठ धाउन थालेका छन् । प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले पशुपतिनाथमा जलहरी नै चढाए । पशुपतिनाथमा विशेष पूजा गरे । लगत्तै माधवकुमार नेपाल पनि पशुपतिनाथमा विशेष पूजाका लागि पुगे । दुवै पूजाका तस्बिरहरु सार्वजनिक गरिए ।
माओवादी अध्यक्ष प्रचण्डले विगतमा भैंसीपूजा गरेको चर्चा चलेको छ । यसलाई ओलीनिकट गोकुल बाँस्कोटाले ट्वीट गर्दै व्यङ्ग्य गरेका छन् । धर्म संस्कृतिको मुद्दा उठ्न सक्ने संकेत गरेका छन् । ओलीकै विश्वासपात्र महेश बस्नेतले धर्मनीरपेक्ष माथि बहस छेडेका छन् ।
कम्युनिस्ट पार्टीमा समेत यो हदको धर्मको पक्षमा खुलेर बोल्ने अवस्था कसरी आयो । कुनैबेला हिन्दुको कुरा गर्दा पूर्वराजा ज्ञानेन्द्र शाह कि कमल थापासँग लगेर जोड्नेहरु आफै खुलेर हिन्दुत्वको विषय उठान गर्न थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यात्मिक विषयको अभिव्यक्ति कुनै धर्मगुरुको प्रवचन जस्तै लाग्छन् ।
मधेश केन्द्रित दलका नेता महन्थ ठाकुर धर्मगुरु झै सार्वजनिक रुपमा गेरु वस्त्रमा देखिन्छन् । राजकिशोर यादवको शैली पनि त्यस्तै छ ।
आखिर यो अवस्था कसरी आयो ? चासोको विषय बन्न सक्छ । यी परिस्थिति विकास हुनुमा हिन्दुत्वको एजेन्डाको देशको दूरदराजसम्मको फैलावट पनि कारण बनेको बुझिएको छ । दलका नेता र खाट्टी कार्यकर्ता काठमाडौं केन्द्रित हुँदा हिन्दुवादीहरु देशका कुना काप्चा पुगेर हिन्दुत्वको जरा गाँड्न सक्रिय रहे । यही गाडिएको जराका कारण नेताहरु अब मुद्दाको सम्बोधन विना राजनीति सहज नहुने निष्कर्षमा पुगेको देखिदैछ ।
रुक्माङ्गत कटवालको हिन्दु राष्ट्र स्वाभिमान अभियान सुरु गरेका छन् । पत्रकार देवप्रकाश त्रिपाठीले हिन्दुराष्ट्रसहितको राजसंस्थाको एजेन्डा बोकेर पार्टी घोषणा गरेका छन् । यी दुई घटनाले पनि धेरै संकेतहरु गर्दछन् ।
हिन्दुवादीहरुले भित्र भित्र प्रमुख दलका नेताहरुलाई हिन्दुत्वको मुद्दाको सम्बोधनका लागि वाध्यकारी परिस्थिति विकास गर्दैछन् । ९० प्रतिशत सनातन धर्म मान्ने जनसंख्यामा हिन्दुत्वको मुद्दा नै लोकप्रीय बन्ने परिस्थिति बनाउँदै लगेका छन् । उनीहरु धेरै हदसम्म सफल भइरहेको घटनाक्रमले देखाइरहेको छ ।
हिन्दुवादीले देशभर संगठन विस्तार गर्दै लगेर मुद्दा सम्बोधनका लागि पार्टी खोल्नेसम्मको विकल्प राखेको बुझिएको छ । सत्ता भन्दा मुद्दा केन्द्रित भएकाले उनीहरुको मुख्य दलहरुभित्र प्रभाव बढाउन सक्रिय छन् । विशेषगरी नेपाली काँग्रेसमा हिन्दुवादीको प्रभाव फैलदो देखिदैछ । नेकपा एमालेभित्र पनि यसले जरा गाड्दै गएको छ । अबको आमनिर्वाचनमा हिन्दुत्व नै मुख्य मुद्दा बन्ने परिस्थिति विकासमा लागेका छन् ।