सुदूरपश्चिममा मंगलबारै १३ जना सांसदले माधव नेपालको नेकपा (एस) मा सनाखत गर्न लागेका हुन् । सनाखत गर्नेमा सोडारीसहित, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, सांसदहरु बलबहादुर सोडारी, अम्मर साउद, चुनकुमारी चौधरी, मना साउद, तारालामा तामाङ, अर्चना गहतराज, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन् ।
प्रतिनिधिसभा विघटनपछि माधव नेपाल समूहमा उभिएका १७ मध्ये १३ जनाले नयाँ पार्टीमा जाने निर्णय गरेका हुन् । यसअघि माधव समूहमा रहेका एमाले संसदीय दलका नेता प्रकाश शाह, प्रकाश रावल, पूर्वमन्त्री कृष्णराज सुवेदी, गोविन्द कुँवरले भने नयाँ पार्टीमा नजाने बताएका छन् । उनीहरु एमाले उपाध्यक्ष भीम रावल निकट मानिन्छन् । रावल माधवलाई छाडेर एमालेमा फर्किएका छन् ।
अहिले नेकपा एसमा जान चाहने प्रदेशसभा सदस्यको हस्ताक्षर अभियान सञ्चालन भइरहेको छ । हस्ताक्षर सकिएलगत्तै प्रदेश निर्वाचन आयोगमा सनाखत गराइने नेकपा एसकी केन्द्रीय सदस्य तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताइन् । ‘आज नभए भोलिसम्म निर्वाचन आयोगमा हस्ताक्षर बुझाउँछौं,’ उनले भनिन् । सुदूरपश्चिममा एमालेका सभामुखसहित २५ सांसद छन् ।