काठमाडौं, १६ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा पनि चुनावमा जोड दिदै आएका छन् । उनले फेरि अर्ली इलेक्शन गर्ने प्रयास थालेका छन् । त्यसका लागि विभिन्न माध्यमले दलका नेताहरुसँग छलफल चलाएका छन् ।
देउवाले मङ्गलबार आफ्ना विश्वासपात्र समेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सन्देशसहित एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न पठाए । कार्कीले देउवाको महत्वपूर्ण सन्देशहरु ओलीलाई सुनाएको बुझिएको छ ।
राष्ट्रिय सहमतिको सरकारसहित अर्ली इलेक्शनको सम्भावनाबारे कार्कीले ओलीसँग छलफल गरेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार देउवाले आउँदो वैशाखमा चुनाव गर्नसकिने सम्भावनाबारे ओलीसँग छलफलका लागि कार्कीलाई पठाएका हुन् । त्यसका लागि आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने उनको चाहना पनि सुनाएका छन् ।
पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको शर्तहरुका कारण देउवा अप्ठ्यारोमा परेको बुझिएको छ । उनले ओलीसँग सम्बन्ध सुमधुर बनाएर जाने प्रयास त्यसकारण पनि थालेका हुन् । ओलीसँग देउवाको कतिपय विषयमा सहमति छ । विगतमा दुवै नेताबीच भित्री गठबन्धन बनेको थियो जुन पछि तोडियो ।