काठमाडौं, १६ भदौ । यस विषय पठनपाठन गर्नका लागि कामपाले आफू मातहत रहेका सामुदायिक विद्यालयमा एक सय ७२ नयाँ शिक्षक नियुक्ति गरेको छ । कामपाले आफ्नो मातहतमा रहेको सामुदायिक विद्यालयमा सेवा करारअन्तर्गत नियुक्त गरेको हो । यसरी नियुक्त गरिएको शिक्षकको हरेक एक वर्षमा समयावधि थप गर्ने व्यवस्थाअनुरुप शिक्षक राखिएको हो ।
सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि पाठ्यपुस्तक तयार गरी दुवैलाई अनिवार्य लागू गरे पनि नयाँ शिक्षक भने सामुदायिक विद्यालयमा मात्र पठाएको छ । निजीका शिक्षकलाई भने कामपाले आवश्यकताअनुरुप तालिमको व्यवस्था गरिदिएको छ ।
कामपामा रहेका ९१ सामुदायिक र पाँच सय ४१ संस्थागत विद्यालयमा लागू गर्ने गरी पाठ्यपुस्तक तयार गरिएको हो । हाल यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठनपाठन हुनेछ । कामपाका सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । कामपाका सामुदायिक विद्यालयमा एक हजार सात सय ९१ शिक्षक कार्यरत छन् । कामपाले यसरी नयाँ दरबन्दी नै सृजना गरी शिक्षक राखिरहँदा काठमाडौँकै धेरै स्थानीय तहले भने आफूसँग साधन स्रोतको कमी रहेकाले पुरानै शिक्षकबाट पठनपाठन गरिरहेको बताएका छन् ।
स्थानीय पाठ्यक्रम स्थानीय सरोकारवालाहरुको सहभागिता तथा आवश्यकता र औचित्यका आधारमा तयार गरिने योजना हो । स्थानीय भन्ने बित्तिकै स्थानीय व्याक्तिको आवश्यकता, विषयवस्तु तथा निर्माणमा स्थानीय विज्ञ वा व्याक्तिको संलग्नता रहन्छ । स्थानीय पाठ्यक्रम विद्यालय, समुदायभित्र रहेका व्याक्तिको चाडपर्व, धर्म, संस्कार संस्कृति, प्राकृतिक स्रोत साधन, भूगोल, भाषा, वेशभूषा, पेसा आदिसँग सम्बन्धित रहेर निर्माण गर्नुपर्दछ ।
त्यसैगरी राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले पनि कक्षा १ देखि ८ सम्म स्थानीय विषय पढाउन सकिने प्रावधान राखेको छ । स्थानीयस्तरमा लुकेर रहेका ज्ञान सीपलाई पुनः उजागर गरी आधुनिक सभ्य मानिएको विश्व समाजलाई चिनाउन तथा नेपालीको प्रत्यक्ष जीवन पद्धतिसँग जोडिएर रहेका विषयहरु अगाडि ल्याउन स्थानीय पाठ्यक्रम अति आवश्यक छ । स्थानीय पाठ्यक्रमले नेपालमा रहेका विविधतालाई चिनाउन महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्दछ । रासस