Logo

म्याग्दीमा कांग्रेसको चुनावी सरगर्मी बढ्यो



बेनी, १६ भदौ । म्याग्दीमा नेपाली कांग्रेसमा चुनावी सरगर्मी बढेको छ । पार्टीको १४औँ महाधिवेशनको तिथि नजिकिँदै गएको वडा तहबाट अधिवेशनको सुरुवात हुन लागेपछि यतिबेला नेपाली कांग्रेसभित्रको माहोल निर्वाचनमय बनेको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन कार्यतालिका अनुसार यही भदौं १८ गते वडा तहको अधिवेशन हुँदैछ । एक सङ्घीय र दुई प्रदेश निर्वाचन क्षेत्र, ६ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा नयाँ नेतृत्व पाउने भएकाले यतिबेला म्याग्दी कांग्रेसका नेता तथा कार्यकर्ता उत्साही देखिएका छन् ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार देशभरका सबै वडामा यही भदौ १८ मा कांग्रेसको नेतृत्व चुनिनेछन् । वडामा चुनिने नेतृत्वसँगै पालिका, प्रदेश र जिल्ला अधिवेशनमा भाग लिन पाउने प्रतिनिधिसमेत छनोट हुने भएकाले जिल्लाको नेतृत्वदायी पदमा आकांक्षी देखिएका नेतासमेत आन्तरिक बैठक, छलफल र भेलामा जुटेका छन् ।

पार्टी केन्द्रले म्याग्दीमा तोकिएका जिल्ला मुख्य निर्वाचन अधिकृत नीरञ्जनराज भण्डारी निर्वाचन सामग्रीसहित जिल्लामा आएर आवश्यक तयारी सुरु गर्नुभएको छ । म्याग्दी कांग्रेसले वडा अधिवेशनको निर्वाचनका लागि नेपाल शिक्षक सङ्घमा आवद्ध शिक्षकलाई परिचालन गर्ने निर्णय गरेको र सोही बमोजिम वडावडामा तयारी सुरु भइसकेको जिल्ला उपसभापति माधवप्रसाद रेग्मीले जानकारी दिए ।

‘‘पार्टीको तर्फबाट सम्बन्धित तहका नेता, कार्यकर्तालाई जानकारी गराउने काम भइसकेको छ, पार्टी केन्द्रबाट क्रियाशील सदस्यता टुङुगिएर आइसकेको छ, मुख्य निर्वाचन अधिकृतले वडामा परिचालन हुने शिक्षकलाई आवश्यक प्रशिक्षण र सहजीकरण गरेपछि आवश्यक सामग्रीसहित सबै वडामा निर्वाचन टोली परिचालन हुन्छन्’’– उनले भने ।

जिल्ला बाहिर रहेका पार्टीका नेतासमेत वडा अधिवेशनका लागि गाउँ फर्किएपछि चलहपहलसमेत बढेको छ । वडा तहमा निर्वाचन अधिकृतको टुङ्गो लगाइसकिएको र उनीहरुलाई पार्टीको जिल्ला नेतृत्व र निर्वाचन अधिकृतमार्फत आवश्यक निर्देशनसहित निर्वाचन सामाग्रीसहित परिचालनको तयारी भएको पार्टीका जिल्ला सहसचिव भरतबहादुर रकालले जानकारी दिए ।

म्याग्दीमा वडा अधिवेशनमा कूल दुई हजार ८३९ जनाले भाग लिन पाउने छन् । पार्टी केन्द्रले सार्वजनिक गरेको क्रियाशील सदस्यको विवरण अनुसार, म्याग्दी कांग्रेसमा पुराना नवीकरण भएका एक हजार ८४ र नयाँ थप भएका एक हजार ७५५ जना क्रियाशील सदस्यले मात्रै वडामा उम्मेदवार र नेतृत्व चयनमा मतदानको अधिकार पाउने जिल्ला पार्टी प्रवक्ता अजयमिलन श्रेष्ठले बताए । रासस



प्रतिक्रिया दिनुहोस्