Logo

महन्थसहित शिर्ष नेता जनकपुरमा सक्रिय, प्रदेश २ मा १० सांसदले लोसपा रोजे (सुचीसहित)



जनकपुर, १६ भदौ । जनता समाजवादी पार्टीका १० सांसदले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । आज प्रदेश निर्वाचन कार्यालय जनकपुरधाम पुगी उनीहरुले हस्ताक्षरसहित सनाखत गरेका हुन् ।

जसपाबाट अलग भई लोसपा निर्वाचन आयोगमा दर्ता भएको थियो । त्यसपछि राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न ल्याइएको अध्यादेश बमोजिम २२ भदौभित्र पार्टी रोज्न सक्ने समय दिइएको छ ।

जसपाबाट आज १० जनाले लोसपा रोजेर सनाखत समेत गरेका छन् । अझै ४ जनाले सनाखत गर्ने बुझिएको छ । पूर्वमन्त्री जीतेन्द्र सोनल आफै सनाखतका लागि सक्रिय भए । तर, उनको आज सनाखत भएको छैन ।

जसपाका ५४ सांसदमध्ये अहिलेसम्म १० जनाले मात्र लोसपा रोजेका छन् । राजपा र समाजवादी पार्टी नेपाल एकीकरण भई लोसपा बनेको थियो । २०७४ सालको प्रदेश सभा निर्वाचनमा प्रदेश नम्बर २ मा समाजवादी पार्टीबाट २९ र राजपाबाट २५ सांसद विजयी भएका थिए । राजपाका आधा भन्दा बढी सांसद फर्कने देखिएको छ ।

लोसपामा बढीभन्दा बढी प्रदेश सांसद तान्न अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु जनकपुर पुगेका थिए । ठाकुरसहित राजेन्द्र महतो र शरतसिंह भण्डारीको विमानस्थलमा कार्यकर्ताले विशेष स्वागत गरेका थिए ।

जसपा छाडी लोसपा रोज्ने प्रदेश सांसद

परमेश्वर साह
सरिता साह
बाबुलाल साह
जानकीशरण साह
जयनुल राइन
अलका झा
बबिता कुमारी
निलम देवी भुमिहारिन
रमेश प्रसाद कुर्मी
गौरीनारायण साह



प्रतिक्रिया दिनुहोस्

Screenshot