अफगानिस्तानमा जति पनि शक्तिराष्ट्र छिरे तिनले अत्याधुनिक हतियार छाडेर गए । १९औं शताब्दीमा प्रवेश गरेको बेलायत, २०औं शताब्दीमा सोभियत संघ र २१औं शताब्दीमा अमेरिकाले त्यही गर्यो । सोभियत संघले ३२ वर्ष अघि छाडेको हतियार अझै अफगानिस्तानमा भेटिन्छ ।
अफगानिस्तानमा सोभियतकालिन हेलिकोप्टर, ट्यांकर जस्ता अत्याधुनिक सैन्य सामाग्री पहाडहरुमा काम नलाग्ने अवस्थामा समेत भेटिन्छन् । त्यहाँका बालबालिका ती सैन्य सामाग्रीमा खेल्न पुग्छन् ।
अहिले अमेरिकाले अफगानिस्तान छाड्दा ८५ अर्ब डलर बराबरको हतियार छाडेर गएको छ । अमेरिकाले अफगानी सेनालाई दिएको अत्याधुनिक हतियार त्यही छाडेको छ । ७५ हजार सैनिक सवारी साधन, २ सय भन्दा बढी विमान र हेलिकोप्टर, ६ लाखभन्दा बढी हतियार मात्र अमेरिकाले छाडेको छ । त्यसबाहेक अफगानिस्तानमा विभिन्न माध्यमले छिराइएका हतियार अलग्गै हुन् ।
गोली र बारुदले अफगानिस्तान भरिएको भन्दा हुन्छ । एम फो कार्बिन्स र एम १६ जना अमेरिकी सैनिकले बोक्ने हतियार अफगानिस्तानमा तालिवानले बोक्न थालेका छन् । सयौं बम वर्षक हेलिकोप्टर र विमान छन् ।
यति धेरै हतियार भएको देश अफगानिस्तान भोकमरीको खतरामा पुगिसकेको छ । देश टाट जस्तै अवस्थामा छ । बैंकहरुको एटीएममा पैसा झिक्नेको लाम लाग्न थालेको छ । तर, बैंकहरु नै रित्तिन थालेका छन् । विदेशी बैंकहरुले रकम रोकिदिएकाले अफगानिस्तानन टाट जस्तै बनेको छ ।
सरकारी कर्मचारीहरुले महिनौं देखिको तलब पाएका छैनन् । बैंकहरु निष्कृय जस्तै छन् । तालिवानले १५ अगष्टमा सत्ता कब्जा गरेपछि अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले कारोबार रोकिदिएका छन् । अफगानिस्तानमा विदेशबाट पैसा जान रोकिएको छ । अमेरिकाले मात्र अगष्ट महिनामा अफगानिस्तानको केन्द्रीय बैंकको साँढे ९ अर्ब डलर रोकिदिएको छ ।
अरबौं डलर रोकिएपछि अफगान केन्द्रीय बैंकको बोर्ड सदस्यले अन्तर्राष्ट्रिय मुद्रा कोष र अमेरिकी राष्ट्रपति जोय वाइडेनलाई रकम नरोक्न आग्रह गरेका छन् । आर्थिक प्रकोप आउन नदिन तत्काल रकम छाड्न आग्रह गरेका हुन् ।
तालिवान र सरकारी फौजबीच महिनौंको भिडन्तका क्रममा ५ लाख अफगानीहरु आन्तरिक रुपमा बसोबासस्थल छाड्न वाध्य भएका छन् ।-एजेन्सीको सहयोगमा