काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनका क्रममा आजबाट वडा तहका अधिवेशन शुरू भएको छ । महाधिवेशनको सन्दर्भ पारेर कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले वडा अधिवेशनको सफलताको लागि शुभकामना दिएका छन् ।
नेता सिंहले संगठनको मेरूदण्ड भनेकै वडा, क्षेत्र र जिल्ला तह भएको बताएका छन् । सिंहले आज जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘वडामा सक्षम र सशक्त नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पर्छ । लोकतान्त्रिक विधि–प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट वडा अधिवेशनले सक्षम र सबल नेतृत्व चयन गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’
संविधानको रक्षा, संघीयता, समावेशीता, समानुपातिक सहभागिता, युवा प्रतिनिधित्वलाई थप मजबुत बनाउनसक्ने र देशलाई गति दिन सक्ने, समृद्धिको बाटोमा लैजान सक्ने भिजनसहितको नेतृत्व आजको आवश्यकता हो भन्दै सिंहले राष्ट्रिय राजनीतिमा दूरगामी प्रभाव राख्ने कांग्रेस महाधिवेशन एउटा उत्सव भएको जिकिर गरेका छन् ।
‘काँग्रेस बलियो बन्दा लोकतन्त्र बलियो हुन्छ । काँग्रेसलाई बलियो बनाउने नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् भन्ने कामना गर्दछु । त्यसतर्फ तल्ला तहबाटै प्रयत्नहरू अघि बढाउन पनि म देशभरका साथीहरूसँग अपिल गर्दछु ।’ प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उनले वडा अधिवेशन विधिसम्मत, क्षमतावान नेतृत्व चयन गर्न समेत सदस्यहरुलाई आग्रह गरेका छन् ।