Logo

सिटौला समूहमा फुट, गगन थापा र प्रदीप पौडेल अलग गुटमा



काठमाडौं, १८ भदौ । नेपाली काँग्रेसको वडा अधिवेशन सुरु हुँदा कतिपय गुटहरु कमजोर हुन थालेका छन् । कतिपय गुट भने बलियो बन्दै गएका छन् ।

काँग्रेसको १३औं महाधिवेशनमा निर्णायक शक्ति बनेको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह फुटेको छ । उक्त समूहबाट महामन्त्रीको उम्मेदवार बनेका गगन थापा अलग भएका छन् । १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार घोषणा गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा लागेका छन् ।

पौडेल समूहले प्रमुख नेताहरुलाई साथमा राखेर सहमति बनाएर महाधिवेशनमा एकजना मात्र सभापतिको उम्मेदवार बन्ने घोषणा गरेको दिन गगन थापा पनि देखिए । योसँगै उनी पौडेल समूहमा लागेको स्पष्ट भएको छ । उनी पौडेल समूहबाट महामन्त्रीको उम्मेदवार बन्ने सन्देश गइसकेको छ ।

गगन थापाले समूह छाडेर पौडेलसँग गएपछि अर्का प्रभावशाली नेता प्रदीप पौडेलले पनि गुट परिवर्तन गरिसकेको बुझिएको छ । उनले औपचारिक घोषणा नगरेपनि सभापति शेरबहादुर देउवा समूहमा गएको बुझिएको छ । पौडेल पनि महामन्त्रीका दाबेदार हुन् । उनको काँग्रेसको युवा पुस्तामा बलियो प्रभाव छ । नेविसंघको निर्वाचित अध्यक्ष भइसकेका पौडेलको विगतमा गगन थापासँग नजिकको सम्बन्ध थियो । अब दुवैको राजनीतिक गुट फरक भएको बुझिएको छ ।

यसैगरी, सिटौला समूहका अधिकांश नेताहरु देउवाको समूहमा पुग्ने भएका छन् । उमाकान्त चौधरी, भीमसेनदास प्रधानलगायत नेताहरु पनि देउवा समूहमा नजिकिएका छन् । चौधरी र प्रधान मन्त्रीको दौडमा छन् ।

काँग्रेसभित्र विकसित घटनाले अब दुईवटा मात्र मुख्य गुट रहने देखिएको छ । सिटौला समूहका नेताहरु देउवा या पौडेल रोजेर जान थालेका छन् । योसँगै १३औं महाधिवेशनमा निर्णायक शक्ति बनेको सिटौला समूह यसपटक कुनै एक समूहमा विलय हुने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot