काठमाडौं, १९ भदौ । मधेशवादी दलका रुपमा चिनिएको जनता समाजवादी पार्टी विभाजित भएपछि मधेशको मात्र नभई देशको राजनीति प्रभावित भएको छ । यो घटनासँगै अब आउँदो निर्वाचनमा मधेश केन्द्रित नेताहरुको स्थिति के होला ? चासोको विषय बनेको छ ।
२०७९ सालको मंसिरसम्म आमनिर्वाचन भइसक्नुपर्छ । त्यतिबेलासम्म मधेशवादी नेताहरु अहिलेकै जस्तो फुटको अवस्थामा रहेमा नराम्रो धक्का खानुपर्ने निश्चित छ ।
मधेश केन्द्रित दलका नेताहरु एक भएर वा गठबन्धन बनाएर चुनाव लड्दा देशको तेस्रो ठूलो शक्ति बनेका थिए । अब फुटेपछि चौंथो र पाचौं शक्ति बनेका छन् । उनीहरु कमजोर भएका छन् । चुनाव भएमा यसको झन् ठूलो असर पर्न सक्छ ।
मधेशवादी दलहरुको बाहुल्य रहेको राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर एक वर्ष अघि बनेको जनता समाजवादी पार्टीको एकता लामो समय नटिक्नुमा नेताहरुबीचको शक्तिसंघर्ष नै कारण बन्यो । महन्थ ठाकुर र उपेन्द्र यादवबीचको टकरावले जसपा दुई चिरा भयो । अबको एक वर्षसम्म कुनै सहमतिको मार्ग नखोलिए उनीहरु अलग अलग रुपमा चुनावमा जाने निश्चित छ । त्यसको परिणाम दुवैका लागि सुखद नहुनसक्छ ।
२०७४ सालमा भएको आमनिर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम र जनता समाजवादी पार्टी गठबन्धन गरेर चुनावमा भाग लिएका थिए । गठबन्धनका कारण उनीहरुले उल्लेख्य सफलता हासिल गरे ।
मधेशवादीहरुले यसअघि कुनैपनि चुनावमा यति धेरै सिट जितेका थिएनन् । तत्कालीन संघीय समाजवादी पार्टीले प्रत्यक्षतर्फ १०७ स्थानमा उम्मेदवारी दिएकोमा १० सिट जितेको थियो । राजपाले भने ६५ स्थानमा उम्मेदवारी दिएकोमा ११ सिटमा जित हासिल गरेको थियो । दुवै दलले मधेशमा ऐतिहासिक सफलता हासिल गरेका थिए ।
तत्कालिन जसपा र फोरमको प्रत्यक्षतर्फ सिट जोड्दा नेपाली काँग्रेसको भन्दा २ सिटले मात्र कम हो । काँग्रेसले प्रत्यक्षतर्फ २३ सिटमात्र जितेको थियो । मधेशमा काँग्रेसलाई ठूलो धक्का परेको थियो । मधेशवादी नेताहरु मिल्दा सबैभन्दा ठूलो नोक्शान काँग्रेसलाई परेको थियो । अब फुट्दा काँग्रेसलाई फाइदा पुग्ने देखिएको छ । त्यसकारण काँग्रेस नेताहरु उत्साही छन् ।
फुटेकै अवस्थामा चुनावमा गएमा यसअघि चुनाव जितेका अधिकांश मधेशवादी नेताहरुलाई आगामी चुनाव निकै कठिन पर्न सक्छ । एक भएर मधेशवादी नेताहरुले त्यतिबेला चुनावी लहर नै ल्याउन सकेका थिए । मधेशको सीमा नजिकका अधिकांश क्षेत्रहरुमा मधेशवादी नेताहरु विजयी भएका थिए । तत्कालीन राजपाको अध्यक्ष मण्डलका महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, अनिलकुमार झा र राजकिशोर यादव सबैजना विजयी भएका थिए ।
तत्कालीन समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवका अलावा प्रभावशाली नेताहरु रेणु यादवलगायत पनि विजयी भएका थिए । उनीहरुको सजिलो जीतमा चुनावी गठबन्धन बन्नु मुख्य कारण थियो ।
अब जसपा फुटेर चुनावमा जाँदा मत बाँडिने अवस्था बन्न सक्छ । विगतमा ल्याएको मत बाँडिने र त्यसमाथि चुनावी लहर पनि प्रतिकूल पर्दा मधेशवादीलाई ठूलो धक्का पर्न सक्छ ।
२०७४ को चुनावलाई केलाउँदा महन्थ ठाकुर नेतृत्वको तत्कालिन राजपाले ४ स्थानमा मात्र १० हजारभन्दा बढी मतान्तरले जीत हासिल गरेको थियो । २ स्थानमा ५ हजार, २ स्थानमा ३ हजार, १ स्थानमा २ हजार, १ स्थानमा १ हजार र १ स्थानमा ५ सय मतान्तरले जित हासिल गर्न सक्यो ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीले ३ स्थानमा मात्र १० हजारभन्दा बढी मतान्तरले जित हासिल गरेको थियो । ४ स्थानमा ५ हजार, १ स्थानमा ३ हजार र २ स्थानमा १ हजार मतान्तरले जित हासिल गरेको थियो ।
यथास्थितिमै चुनावमा गएमा महन्थ ठाकुर नेत्वको लोसपालाई अघिल्लो चुनावमा जितेकामध्ये कम्तिमा ७ स्थानमा जीत निकाल्न मुश्किल पर्न सक्छ । उपेन्द्र यादव नेतृत्वको जसपालाई अघिल्लो चुनावमा जितेका मध्ये ६ स्थानमा जीत निकाल्न मुश्किल पर्छ ।