Logo

काँग्रेस महामन्त्रीमा प्रदीप र गगनबीच भिडन्त हुनसक्ने



काठमाडौं, २० भदौ । नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा राजनीति रोचक मोडमा पुगेको छ । नेताहरुको गुट परिवर्तन तिव्र भएको छ । कुनै बेला एउटै गुटमा रहेर एक अर्कालाई साथ दिएकाहरु अलग्गिएका छन् ।

१३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको गुटबाट महामन्त्रीको उम्मेदवार बनेका गगन थापाले गुट परिवर्तन गरेका छन् । उनी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा खुलेका छन् । पौडेल पक्षबाट उनलाई महामन्त्रीको उम्मेदवारको आश्वासन मिलेको छ । १४ भदौमा गगन थापाले आफ्नो निर्वाचन क्षेत्रमा बोल्दै महामन्त्रीको उम्मेदवारी घोषणा गरिसकेका छन् ।

सिटौला पक्षका अर्का प्रभावशाली नेता प्रदीप पौडेलले भने फरक रणनीति बनाएको बुझिएको छ । उनी पौडेल पक्षमा नजाने बुझिएको छ । सभापति शेरबहादुर देउवा पक्षबाट पौडेलले महामन्त्रीको उम्मेदवार बन्ने सम्भावना बढेर गएको छ ।

तनहुँ गृहजिल्ला भएका प्रदीप पौडेललाई साथमा लिएर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई कमजोर पार्ने रणनीति समेत बनाएको विश्वस्त स्रोतले बताएको छ । १४औं महाधिवेशनमा प्रदीप पौडेल र गगन थापा दुवै महामन्त्रीको उम्मेदवार बन्ने सम्भावना बढेको छ । यी दुईबीच महामन्त्रीका लागि भिडन्त हुने अवस्था विकास हुँदै गएको छ ।

१३औं महाधिवेशनमा गगन थापा महामन्त्रीमा डा. सशांक कोइरालासँग पराजित भएका थिए । उनले लोकप्रीय मत पाएपनि जितका लागि पर्याप्त भएको थिएन । त्यसपछि सिटौला पक्षमै रहेर स्वास्थ्यमन्त्री समेत बनेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot