Logo

विद्युतीय चार्जिङ स्टेसनका लागि ठाउँ खोज्दै साझा



काठमाडौं, भदौ २१। निकट भविष्यमा नै विद्युतीय बस भित्र्याउन लागेको नेपाल सरकारको सेयर लगानी रहेको साझा यातायातलाई चार्जिङ स्टेसनका लागि ठाउँको अभाव देखिएको छ ।

साझा यातायातले काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्न ४० वटा विद्युतीय बस टेन्डरमार्फत ल्याउन लागेको हो । त्यसका लागि चार्जिङ स्टेसन बनाउन साझाले ठाउँ खोजिरहेको हो ।

चार्जिङका लागि ठूलो पावर लाग्ने भएपछि सोहीअनुसारको ठाउँको अभावसमेत देखिएको छ । साझाका अनुसार सानो एउटा बिजुलीको सबस्टेसनबराबरको पावर चाहिने भएकाले नेपाल विद्युत् प्राधिकरण समन्वय गरेर चार्जिङ स्टेसन बनाउने तयारी रहेको भइरहेको छ ।

साझाले चार्जिङ स्टेसनका लागि विभिन्न मन्त्रालय तथा निकायअन्तर्गतको सरकारी जग्गा खोज्न थालेको छ । साझा यातायातको कार्यालय रहेको पुल्चोकस्थित परिसरमा पनि एउटा चार्जिङ स्टेसन राख्ने र बाँकी चक्रपथ बाहिर दुई÷तीन ठाउँमा चार्जिङ स्टेसन बनाउने साझाको तयारी छ । त्यसका लागि ठाउँ तथा जग्गा भने मिलिसकेको छैन ।

काठमाडौंको थानकोट, ललितपुरको भैंसीपाटी, भक्तपुरको सल्लाघारी क्षेत्रमा चार्जिङ स्टेसन राख्नेगरी साझाले तयारी गरिरहेको हो ।

अहिले काठमाडौं उपत्यकामा निजी क्षेत्रबाट सञ्चालित विद्युतीय बस सञ्चालन भइरहेको छ । सुन्दर यातायातले आफ्ना लागि काठमाडौंको केही ठाउँमा चार्जिङ स्टेसन बनाएर बस चार्ज गरी सञ्चालन गर्दै आएको छ ।
ऊर्जामन्त्री पम्फा भुसालले चार्जिङ स्टेसनका लागि आवश्यक पर्ने स्थानको उपयुक्त विकल्प खोज्न पहल गर्ने बताएकी छन् ।

साझा यातायातले निकट भविष्यमा ल्याउन लागेको विद्युतीय बसमा एकपटक पूरा ब्याट्री चार्ज गर्दा २ सय किलोमिटर गुड्ने जनाएको छ । एउटा बसमा १ सय ६१ किलोवाट पर आवरको ब्याट्री जडान गरिने छ भने सो ब्याट्री ४ घण्टामा चार्ज फुल हुनेछ ।

साझाले रातको समयमा विद्यत् प्राधिकरणले सस्तो महसुलमा विद्युत् उपलब्ध गराउने भएकाले सो समयमा चार्ज गरिसक्ने गरी योजना बनाएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot