Logo

सेयर बजारमा तीव्र उचारचढाव, आइतबार एकैदिन तेहेरो अंकले घटेको बजार सोमबार फेरि तेहेरो अंकले नै वृद्धि



काठमाडौं, २२ भदौ । सेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकको नयाँ व्यवस्थाको बहानामा केही लगानीकर्ताले बजारमा तीव्र उतारचढाव गराउन थालेका छन् । साताको पहिलो दिन आइतबार एकैदिन तेहेरो अंकले घटेको बजार सोमबार फेरि तेहेरो अंकले नै वृद्धि भएको छ ।

नेपाली सेयर बजार कम्पनीको प्रगति र उनीहरुको वित्तीय सूचकका आधारमा भन्दा पनि नीतिगत तथा राजनीतिक घटनाका कारण छिटो उतारचढाव देखिने गरेको भए पनि यसपटक केही लगानीकर्ताले आफ्नो स्वार्थमा बजारमा चलखेल गर्दै बजार घटाउने तथा बढाउने गरेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले एक व्यक्ति वा संस्थाले एउटा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँसम्म मात्र सेयर धितो कर्जा लिन पाउने प्रावधान लागू गरेको थियो । यो प्रावधान लागू भएपछि भने बजारमा सामान्य प्रभाव देखिएको थियो । धेरै लगानीकर्ता यसका पक्षमा देखिए पनि बजारका केही लगानीकर्ताहरुको संगठित संस्थाहरुले यसको विरोधमा आन्दोलन नै घोषणा गरेपछि बजारमा तीव्र उतारचढाव देखिएको हो ।

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १०८ अंकले घटेर २८१८.७२ अंकमा झरेको थियो । सोमबार फेरि १६१.९४ अंकले उकालो लागेर २९८०.७९ अंकमा पुगेको छ । एक दिनको अन्तरालमा नै उच्च उतारचढावमा बजार हल्लाले भूमिका खेलेको विश्लेषकहरु बताउँछन् । आइतबार लगानीकर्ताहरुले संघर्ष समिति नै बनाएर गभर्नरको राजीनामा माग्दै आन्दोलनसमेत घोषणा गरे । सोमबार केही लगानीकर्ताहरु सडकमा राष्ट्र बैंक विरुद्ध नारा लगाइरहँदा बजार भने उकालो लाग्न सुरु भएको थियो ।

सोमबार अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरी पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेको सूचना सार्वजनिक भएपछि बजारमा सकारात्मक प्रभाव परेको बहानामा बजार बढाइएको विश्लेषकहरुको दावी छ ।

अर्थमन्त्रीको सचिवालयले अर्थमन्त्री र गभर्नरबीच टेलिफोन वार्ता भएको समाचार सार्वजनिक गरेको थियो । अर्थमन्त्रीसँगको वार्तामा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएको अर्थमन्त्रीको सचिवालयले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । तर, सेयर धितो कर्जाको सीमा राष्ट्र बैंकले संशोधन नगर्ने भएको छ ।

सेयर बजार बढाउने वा घटाउने काम राष्ट्र बैंकको नभएको भन्दैे केन्द्रीय बैंकले आफ्नो ध्यान वित्तीय स्थायित्वमा रहने पनि जनाएको छ । सेयर बजारको नियामक निकाय धितोपत्र बोर्ड भने यसमा अझै मौन छ । सर्वोत्तम सिमेन्टको सेयर किनबेचमा धितोपत्र बोर्डका अध्यक्ष निलम्बित छन् भने बोर्ड पनि बजारको उतारचढावमा बोलेको छैन ।

तर, गभर्नर अधिकारीले पटक–पटक सार्वजनिक कार्यक्रममा वित्तीय स्थायित्वका लागि सीमा तोक्नुपरेको र त्यसबाट पछि नहट्ने बताउँदै आएका छन् । सेयर धितो राखेर कर्जा लिने र फेरि त्यो कर्जाबाट सेयर किनेर धितो राख्ने चक्र रोक्न सीमा तोकिएको उनको भनाइ छ ।

यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ । 



प्रतिक्रिया दिनुहोस्