काठमाडौं, भदौ २२ । प्याब्सनका अध्यक्ष टीकाराम पुरीले असोज १ गतेदेखि विद्यालयमा पठनपाठन गर्न कुनै समस्या नभएको बताएका छन् । २०७७ मा पनि कोरोनाका बीचमा विद्यालय खोलेकाले त्यही अनुभवका आधारमा अध्ययन अध्यापन सुचारु गरिने उनको भनाइ छ ।
आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्याब्सन अध्यक्ष पुरीले भने, “काठमाडौंसहितका महानगरबाहेक जनघनत्व कम भएका धेरै ठाउँमा विद्यालय खुलिसकेका छन् । हामीले गत वर्ष पनि कोरोनाका बीचमा विद्यालय खोलेका हौं । कक्षाकोठामा भौतिक दूरी, आलोपालो, एकै दिनमा दुई सत्र आदि गत वर्षको अनुभवले सजिलो भएको छ । अरु सबै सेवा खुलेपछि विद्यालयमात्र बन्द राखेर भविष्य अन्धकार होला भन्नेमा हामी पनि चिन्तित थियौं । अब स्थानीय सरकारसँग समन्वय गरेर विद्यालय खोल्छौं । हाम्रा बालबालिका अनुशासनको पालनामा इमानदार भएकाले अन्य क्षेत्रजस्तो जोखिम छैन ।”
देशको ऐनकानुन अनुसार लगानी गरी खाने र सकेको रोजगारी सिर्जना गरेर सेवा दिने क्षेत्रलाई माफिया भन्ने गरिएकामा उनले आपत्ति जनाए । उनले भने, “हामीले अभिभावकसँग सेवाको मूल्य लिने हो, लुट्ने होइन । नेपालमा जसले काम गरेर खान्छ, सेवा दिन्छ, त्यसलाई माफिया भन्ने चलन छ । हामीले त प्रचलित ऐन कानुन अनुसार लगानी गरेर काम गरेका छौं । लुटेको भन्नु भ्रामक कुरा हो । अनलाइन कक्षा चले पनि घरभाडा, बत्ती, पानीको पैसा तिर्नैपर्छ । त्यसैले भर्चुअल माध्यमबाट जोडिएकाले शुल्क तिर्नु स्वाभाविक हो ।”
पुरीले नेपालमा संस्थागत र निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालय स्तरीय शिक्षा दिने मामिलामा चिन्तित नभएको आरोप पनि उनले लगाए । उनले भने, “साँच्चै भन्ने हो भने स्तरीय शिक्षा दिने हामी नै हौं । तर सामुदायिक विद्यालय स्कुल खोल्ने र स्तरीय शिक्षा दिने मामिलामा चिन्तित छैन । पाठ्यक्रम विकास केन्द्रले पनि त्यस अनुसार काम गरेको छैन । यो चाहिँ चिन्ताको विषय हो ।”