काठमाडौं, भदौ २२ । नेपाल निजामती कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले निजामती सेवाका विकृति, विसंगतिलाई सुधारेर यसलाई सबल र सफल बनाउनु आवश्यक रहेको औंल्याएका छन् । निजामती सेवा दिवसका अवसरमा उनले दलको होइन, देशको झन्डा बोक्ने अठोट पनि गरे ।
आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कार्यवाहक अध्यक्ष पोखरेलले भने, “आज प्रशासनमा भ्रष्टाचार भयो, सुशासन भएन, सेवाप्रवाह प्रभावकारी बनाउन सकिएन भन्ने आम जनताको गुनासो छ । त्यसलाई सुधार गरेर जानका लागि निजामती सेवा ऐन आउनुपर्यो । tr कर्मचारीलाई वर्गशत्रु या दुष्टका रुपमा चित्रित गर्नुभएन ।”
उनले कर्मचारीको दलीयकरण हुनुहुन्न भन्ने कुरामा सहमति जनाए । अब दलको झन्डा होइन, देशको झन्डा बोक्न सक्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, “हामी पनि लोकतान्त्रिक आन्दोलनमा लागेको थियौं । आस्था र विचार राख्नै नहुने भन्ने होइन । तर दल फुटेपिच्छे संगठन बनाउने कुरामा मेरो सहमति छैन । ट्रृेड युनियनको आन्दोलनलाई उत्पादन सम्बन्धका आधारमा जोड्नुपर्छ । एकाधिकार पुँजीवादविरुद्धको आन्दोलनमा केन्द्रित गर्नुपर्छ । तर यसमा सबैको सहकार्य आवश्यक छ ।”
पोखरेलले समायोजनका नाममा भएका जथाभावीलाई अदालतले सच्चाइदिनुपरेको दृष्टान्त दिँदै विगतका गल्ती र कमजोरी सच्चाएर अघि बढ्नुपर्ने बताए ।