काठमाडौं, २२ भदौ । नेकपा एमालेबाट फुटेर बनेको नेकपा एसको आकार कहाँ कति भन्ने टुंगो आज साँझ लागिसक्नेछ । आजसम्म प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिलाई नेकपा एमाले वा नेकपा एस मध्ये एक रोज्ने समयसीमा छ ।
अहिलेसम्म नेकपा एस सुदूरपश्चिम र प्रदेश २ को प्रदेश सभामा नेकपा एमालेभन्दा ठूलो देखिएको छ । प्रदेश २ नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको जन्मथलो रौतहट समेत रहेको क्षेत्र हो । त्यहाँबाट उनी विगतमा प्रतिनिधि सभा सदस्य निर्वाचित समेत भएका थिए ।
प्रदेश २ मा एक हुँदाको नेकपा एमालेका २१ सांसदमध्ये १३ जना नेकपा एस रोज्न पुगेका छन् । एमालेमा ८ जना मात्र रहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा २५ मध्ये १४ प्रदेश सभा सांसदले नेकपा एस रोजेका छन् । नेकपा एस रोज्नेमा दीर्घबहादुर सोडारी, पूर्णा जोशी, लालबहादुर खड्का, चुनकुमारी चौधरी, मनाकुमारी साउँद, माया भट्ट, दुर्गाकुमारी कामी, प्रकाश रावल, तारा लामा तामाङ, अमरबहादुर साउद, बलबहादुर सोडारी, सुशिला बुढाथोकी, कुलविर चौधरी र माया तामाङ बोहरा छन् ।