Logo

बाढीबाट पुष्प व्यवसायमा ५ करोडभन्दा बढीको क्षति



काठमाडौं, भदौ २३ । लगातारको वर्षात्ले गर्दा देशका विभिन्न स्थानमा आएको बाढीका कारण पुष्प व्यवसायमा ५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । किसानले फूलखेती गरेका नर्सरीहरूमा बाढी पसेपछि फूलखेती नष्ट भएको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, इटहरी, बुटवल, चितवनलगायत अधिकांश स्थानमा लगातारको वर्षात् र बाढीले गर्दा फूलखेती र नर्सरीहरूमा क्षति पुग्न गएको हो । वर्षात् र बाढीले गर्दा देशभर केकति क्षति भयो भन्ने कुराको यकिन विवरण आउन समय लाग्ने भए पनि करीब ५ करोड रुपैयाँसम्मको क्षति भएको अनुमान गरिएको प्लोरीकल्चर एशोसिएशन अफ नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले आर्थिक अभियान दैनिकलाई जानकारी दिए ।

उनका अनुसार काठमाडौंको वाग्मती र धोबीखोलामा सोमवार आएको बाढीका कारण किसानले फूलखेती गरेका टनेल र नर्सरी डुबानमा पर्दा २० लाख फूलका बिरुवा मरेका छन् । बाढीका कारण काठमाडौंमा मात्र करीब ४० लाख रुपैयाँ भन्दा बढीको क्षति हुन पुगेको छ । बाढीका कारण दशैं र तिहारका लागि भनेर लगाइएका धेरै फूलका बिरुवाहरू नष्ट भएका छन् ।

काभ्रेपलाञ्चोकमा वर्षात्का कारण २५ रोपनी जमीनमा लगाएको फूलखेतीमा असर पर्दा ५० हजार फूलका बिरुवा नष्ट भएका छन् । अहिलेसम्म काठमाडौंको मात्र क्षतिको पूर्ण विवरण आएको र बाँकी जिल्लाको पनि विवरण संकलन भइरहेको एशोसिएशनले जानकारी दिएको छ । ललितपुर र भक्तपुरमा पनि काठमाडौंकै अनुपातमा क्षति भएको हुन सक्ने बताइएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्