Logo

सीआइए प्रमुख र रुसका सुरक्षा सल्लाकार किन पुगे दिल्ली ?



एजेन्सी, २३ भाद्र । यतिबेला दक्षिण एशियाको राजनीतिमा एकपछि अर्को तरंग आइरहेको छ । अफगानिस्तानमा तालिवान हावी भएसँगै पाकिस्तानले प्रभाव देखाएपछि विश्वको ध्यान दक्षिण एशियामा खिचिएको छ ।

अतिवादी तालिवान सामरिक महत्वको अफगानिस्तानको सत्ता कब्जा गर्न सफल हुनुलाई अमेरिकाको हारका रुपमा विश्लेषण गर्न थालिएको छ । यो घटनाले इस्लामिक अतिवादीको चुनौती झेल्दै आएको रुसलाई समेत झस्काएको छ । चीनले पाकिस्तानको माध्यमबाट अमेरिकालाई अफगानिस्तान मामलामा धक्का दिएको घटनाक्रमले देखाउँदै लगेको छ ।

अफगानिस्तान मामलामा भारतले समेत धक्का खाएको छ । तालिवानलाई पाकिस्तानले साथ दिएको बुझाई दिल्लीको छ । यसकारण उसले तालिवान सरकारलाई मान्यता दिने सम्भावना न्यून छ । यस्तो अवस्थामा अफगानिस्तानसहित दक्षिण एशिया मामलामा छलफल गर्न शक्तिशाली देशका उच्च अधिकारीहरु दिल्ली पुग्ने क्रम चलेको छ ।

अमेरिकी गुप्तचर एजेन्सी सीआइएका प्रमुख विलियम जे बर्नस दिल्ली पुगेका छन् । उनले अफगानिस्तान मामलामा विकास भएको घटनाबारे छलफल गरेका छन् । मंगलबार दिल्ली पुगेका बर्नसले भारतसँग मिलेर दक्षिण एशिया मामलामा रणनीतिक कदमहरुको टुंगो लगाउनसक्नेबारे चासो बढेको छ ।

रुसका राष्ट्रिय सुरक्षा सल्लाहकार निकोलेई पात्रुसेभ पनि दिल्लीमै छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसँग पनि भेट्ने तय भएको छ ।

अमेरिका र रुसका उच्च अधिकारीहरु एकसाथ दिल्ली पुग्नुले दक्षिण एशिया मामलामा पश्चिमा शक्ति र रुसले भारतसँग मिलेर नयाँ रणनीति विकास हुने संकेतहरु देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्