काठमाडौं, २३ भाद्र । नेकपा एमालेका महासचिव थिए माधवकुमार नेपाल । एमालेको नेतृत्वमा लामो समय रहेका उनी अहिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष छन् । राजनीतिक घटनाले परिस्थिति यस्तो बनायो कि उनको सांसद पद खारेज नगरेको भन्दै उनी महासचिव रहिसकेको दलका सांसदले प्रतिनिधि सभामा अवरोध गरे ।
आज एमाले सांसदको अवरोधले स्थिति असामान्यतर्फ बढिसकेको थियो । सभामुख अग्निप्रसाद सापकोटा आक्रोश पोख्दै थिए । उनीमाथि एमाले विभाजनको मतियार बनेको आरोप लाग्यो ।
एमाले फुटाउन खोजिएको सूचनाका आधारमा उक्त दलले माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेर प्रतिनिधि सभामा निवेदन दर्ता गरायो । सभामुख सापकोटाले पदमुक्त गरेको सदर गरेनन् । बरु उनी केही दिन संसदमा अनुपस्थित भए ।
दल विभाजनसम्बन्धी अध्यादेशको बलमा एमाले विभाजन गरिएको थियो । विभाजनपूर्व नै पार्टी अनुशासन र ह्वीप विपरित गएको आरोप लगाउँदै माधव नेपालसहित १४ जनालाई सांसदबाट पदमुक्त गर्ने निर्णयसहित निवेदन संसद कार्यालयमा दर्ता भएपनि सभामुख सापकोटाले अगाडि बढाएनन् । त्यसप्रति एमालेले विरोध जनाउँदै सर्वोच्च अदालतमा रिट निवेदन समेत दर्ता गरेको छ ।