Logo

अफगानिस्तान छोडेर भागेका पूर्वराष्ट्रपति गनीले मागे जनतासँग माफी



एजेन्सी, २४ भदौ । अफगानिस्तान छोडेर यूनाइटेड अरब एमिरेट्समा (यूएई) भागेका पूर्व–राष्ट्रपति अशरफ गनीले अफगानी जनतासँग क्षमायाचना गरेका छन् ।अहिले यूएईममा शरण लिइरहेका पूर्व–राष्ट्रपति अशरफ गनीले अफगानी जनतासँग सामाजिक सञ्जाल ट्विटरको माध्यमबाट क्षमा मागेका हुन् ।

उनले लेखेका छन्,‘काबुल छोड्नु मेरो जीवनको सबैभन्दा कठिन निर्णय थियो ।’तालिवान लडाकुहरूले राजधानी काबुल कब्जा गर्न थालेपछि अगस्ट १५ मा उनले आकस्मिक रुपमा देश छोडेका थिए ।
सामाजिक सञ्जाल ट्विटरमा एउटा विज्ञप्ति प्रकाशन गर्दै उनले जनतालाई छोडेर जान आफूले नचाहेको तर, त्यसो गर्नुबाहेक अरू विकल्प नरहेको बताए । उनले आफूले २० वर्ष अफगानिस्तानलाई प्रजातान्त्रिक, समृद्ध अनि सार्वभौम देश बनाउन समर्पण गरेको जनाएका छन् ।

दुई पटक राष्ट्रपति बनिसकेका गनीले अफगानिस्तानका जनतालाई छाडेर जाने आफ्नो उद्देश्य नभएको तर ६० लाख मानिस बसोबास गर्ने राजधानी काबुलमा हिंसा नहोस् भन्ने चाहेको विज्ञप्तिमा लेखेका छन् ।
साथै अफगान राज्यकोषबाट लाखौँ अमेरिकी डलर लिएर भागेको आरोपको भने उनले प्रतिवाद गरेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्