काठमाडौं, २६ भाद्र । नेकपा एमाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनसहित पारित गर्ने पक्षमा रहेको प्रचार विभाग प्रमुख समेत रहेका सचिव योगेश भट्टराईले बताएका छन् । आज एमाले स्थायी कमिटी बैठकको पहिलो सत्रपछि पत्रकारको प्रश्नमा उनले नेकपा हुँदाको अवस्थाको जे लाइन हो त्यही रहेको बताएका हुन् ।
तत्कालीन नेकपा हुँदा एमसीसी संशोधनसहित पारित गर्ने सुझाव झलनाथ खनालको संयोजकत्वमा गठित अध्ययन कमिटीले दिएको थियो । एमसीसी सिधै पारित गर्ने पक्षमा अध्यक्ष केपी शर्मा ओली थिए । तर, त्यतिबेला प्रचण्ड र माधव नेपाललगायत नेताहरु संशोधन हुनुपर्ने पक्षमा उभिएका थिए ।
‘एमाले एमसीसीको विरोधी होइन,’ एमाले सचिव योगेश भट्टराईले भने, ‘तर केही बुँदामा संशोधन हुनुपर्छ भन्ने हाम्रो नेकपा हुँदाकै अडान हो ।’ तर, सत्ता गठबन्धनले टेबुल गर्ने नगर्नेबारे आफूहरु पर्खिएर बसेको बताए । भट्टराईले एमसीसी संसदमा टेबुल हुनेमा आशंका व्यक्त गरे ।
एमसीसी उपाध्यक्ष फतिमा सुमारले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको दुई दिनपछि उक्त दलले औपचारिक धारणा स्पष्ट पारेको हो । एमाले एमसीसी पारित गर्ने पक्षमा रहेको तर त्यसमा उसको केही शर्त रहेको सन्देश गइरहेको छ ।