Logo

कांग्रेस र एमालेको सरकार बनाएर चुनाव जाने स्थिति बन्दै छः हृदयेश त्रिपाठी



काठमाडौं, भदौ २९ । पूर्वमन्त्री हृदयेश त्रिपाठीले अब नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण बन्न सक्ने राजनीतिक परिस्थिति बन्दै गएको बताएका छन् । राजनीतिक द्वन्द्वले मुलुक ठूलो संवैधानिक दुर्घटनातिर जाने देखिएकाले दुई ठूला दल मिलेर जाने देखिएको उनको दाबी छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता त्रिपाठीले भने, ‘अहिलेको राजनीतिक घटनाक्रम हेर्दा मुलुकमा २०५५ को पुनरावृत्ति हुने देखिएको छ । त्यतिखेर एमाले र माले विभाजन हुँदा कांग्रेस र मालेको सरकार थियो । त्यसपछि कांग्रेस र एमालेको सरकार बनेर चुनावमा जाने परिस्थिति बन्यो । अहिले शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको छ । तर देउवाले सहयोगी दलहरुको पूरा साथ पाइरहनु भएको छैन । वैचारिक रुपमा पनि र तात्कालिक उद्देश्यका लागि पनि । जस्तोः एमसीसीकै विषयमा पनि गठबन्धन दलहरुबीच दरार आएको छ । यस्तै हुने हो भने एमाले र कांग्रेसको सरकार बनाएर चुनावमा जाने स्थिति बन्न सक्छ । यो खिचडीका पछाडि अल्कपनीय परिघटना हुन सक्छ ।’

नेता त्रिपाठीले प्रधानमन्त्री देउवाको प्रचण्ड र माधवसँगको सम्बन्ध लामो समय नरहने संकेत गरे । उनले भने, ‘अहिले हेर्नुस्, गठबन्धन दलहरुको मनस्थिति गएगुज्रेको छ । मन्त्रीको नाम दियो, पार्टी फुट्छ । सांसदहरुलाई मन्त्री दिने भनेर तानेका छन् । कांग्रेस महाधिवेशनसम्म मात्र चुनावमा नजान खोजेको हो । ऊ लामो समय सरकार चलाउन चाहँदैन । लामो समय सरकार चलाए अलोकप्रिय होइन्छ भन्ने उसलाई थाहा छ । हामीले भौगोलिक पुनसंरचना गर्यौं, राज्यको पुनःसंरचना गर्न सकेनौं । त्यसले जो सरकारमा भए पनि अलोकप्रिय हुन्छ । तर देउवा चुनावमा जान चाहँदा प्रचण्ड, माधव नेपालहरु त्यसमा सहमत हुँदैनन् । त्यसैले अहिलेको समीकरण बदलिन सक्छ ।’

नेता त्रिपाठीले देशको राजनीति यसरी नै लिकबाहिर जाने हो भने ठूलो संवैधानिक दुर्घटना हुन सक्न सक्ने पनि औंल्याए । उनले भने, ‘अहिले राजनीतिक दलहरुबीच तिक्तता र विभाजन अनि एकले अर्कोलाई स्वीकार नगर्ने असहिष्णु र प्रतिशोधको राजनीतिले संविधानमा असर गर्छ । चुनावपछि सुरु भएको यस्तो तिक्तताले पार्टीहरु विभाजन भए । संसद् चल्न नसक्ने स्थिति बन्यो । संविधान निर्माता पार्टीहरु नै संविधानको व्यवस्थाभन्दा पृथक दृष्टिकोण राख्छन् । माओवादी प्रत्यक्ष राष्ट्रपति भन्छ, एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भन्छ । अनुहार फोहोर छ, ऐना पुछेर हुँदैन । अब मूल प्रणालीमै प्रश्न आयो । मैले तपाईंसँग प्राइम टेलिभिजनमा धेरै पहिले भने नेकपा विभाजन भयो भने संविधानमा समस्या आउन सक्छ भनेको थिएँ । देश त्यतैतिर गइरहेको छ ।’

उनले एमसीसीमा दलहरुले दोहोरो मापदण्ड अपनाएको बताए । उनले थपे, ‘सत्तामा हुँदा सबैले एमसीसीलाई अघि बढाएका हुन । यो विकास अनुदान हो । हामीलाई थाहा छ, तत्कालीन नेकपा एमालेले गरेको गल्तीका कारण अरुण तेस्रोबाट वञ्चित भयौं । यो अनमोदनको विषय थियो कि थिएन भन्दा पनि तत्कालीन अर्थमन्त्रीको मूर्खतापूर्ण कामका कारण संसद्मा आयो । अहिले नेताहरुको विश्वसनीयतामा प्रश्न उठेको छ । एमसीसी अनुमोदन नगर्दा अरुलाई होइन, नेपाललाई घाटा हुन्छ । सम्झौता गर्नुभन्दा अगाडि १० पटकमा सोच्नुपर्थ्र्यो । सम्झौता गरेपछि अनुमोदन गर्नुको विकल्प छैन ।’

नेता त्रिपाठीले भारतसँगको सम्बन्धमा त्यति धेरै उतारचढाव पनि नआएको र धेरै सुदृढ पनि नभएको विश्लेषण गरे । चीनसँग सम्बन्धलाई अनावश्यक उछालिएको उनले बताए । उनले थपे, ‘नेपालका दलहरुको दुःखद पक्ष के हो भने सीमा विवाद र अन्तर्राष्ट्रिय सम्बन्धलाई आन्तरिक राजनीतिक विषयवस्तु बनाउँछन् । अरु देशमा दलहरुले अन्तर्राष्ट्रिय सम्बन्धमा एउटै धारणा राख्छन् । नेपालमा त्यस्ता धारणा पहिले पनि भएन, अहिले पनि भएको छैन । दलहरुले मौसमी नारा चलाउनु विडम्बना हो । हरेक मौसमले सदैव उत्तिकै साथ दिन सक्दैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot