Logo

पद धरापमा परेपनि मुख्यमन्त्री आचार्यद्वारा मन्त्रिमण्डल विस्तार



विराटनगर, ३० भाद्र । प्रदेश १ मा नेकपा एमालेका सचिव भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । कुनैपनि बेला सरकार ढल्ने अवस्था छ । तैपनि, आचार्यले आज मन्त्रिमण्डल विस्तार गरेका छन् ।

उनले आज दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका छन् । मन्त्री भएकाहरुमा आर्थिक मामलामा तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्थामा हिरा थापा छन् ।

लीलावल्लभ अधिकारीले आन्तरिक मामला, भूमि व्यवस्थामा ज्ञानेश्वर राजवंशी र उद्दोगमा उत्तमकुमार बस्नेतले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

शेरधन राईले राजीनामा गरेपछि भीम आचार्य मुख्यमन्त्री बनेका थिए । तर, नेकपा एमाले विभाजनपछि प्रदेश १ को सरकार अल्पमतमा परिसकेको छ ।

यसैगरी, २२ असोजमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने भएका छन् । उनले त्यसका लागि प्रदेश १ सरकारमार्फत् २२ असोजमा प्रदेश सभा अधिवेशन बोलाउने निर्णय गरेका छन् ।

प्रदेशसभामा एमाले विभाजन पश्चात बहुमत गुमेको छ । ९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१, काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एसका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ सांसद छन् ।



प्रतिक्रिया दिनुहोस्