Logo

को बन्ला काँग्रेस सभापति ? कस्को कति शक्ति



काठमाडौं, ३१ भाद्र । नेपाली काँग्रेसमा सभापतिका एक दर्जन दाबेदार देखिएका छन् । महाधिवेशनको मिति नजिकिएपनि दाबेदार कसैले ब्याक भएको घोषणा गरेका छैनन् । बरु सभापतिमा उम्मेदवारी घोषणा गर्नेहरु बढिरहेका छन् ।

सभापतिमा काँग्रेसको विभिन्न पुस्ताका नेताहरु दाबेदार छन् । ८० को नजिक पुगेका वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दाबेदार छन् । देउवाले १३औं महाधिवेशनमा पौडेललाई पराजित गरेका थिए ।

७० कटेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, डा. रामशरण महत पनि सभापतिका दाबेदार छन् । उनीहरु कुनै हालतमा पछि नहट्ने अडानमा छन् । उमेरका कारण पनि यसपटक सभापति बन्न नपाए अवसर नआउने सम्भावना रहने कारण पनि उनीहरुको अडान कायमै छ ।

६५ कटेकामध्ये पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. सशांक कोइराला, केन्द्रीय सदस्य सुजाता कोइराला पनि दाबेदार छन् । वर्तमान उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् ।

सिंह आफूसँग लामो अनुभव भएको र सिद्धान्त र आदर्शको राजनीतिबाट अविचलित रहेकाले काँग्रेसको नेतृत्व हाँकेर पार्टीलाई उचाईमा पुर्याउन सक्ने बताउँदै आएका छन् । वीपीपुत्र सशांक र जीपी पुत्री सुजाता पनि काँग्रेसको साख उच्च बनाउनसक्ने भन्दै दाबेदार देखिएका छन् । निधिले देउवालाई कुनै हालतमा सभापति बन्न नदिने चुनौती यसअघि नै दिइसकेका छन् ।

६० कटेका चन्द्र भण्डारी देखि ५० आसपासका कल्याण गुरुङ पनि सभापतिका दाबेदार छन् । यसरी दाबेदारहरुले अन्तमा कुनै एकलाई साथ दिएर ब्याक हुने सम्भावना छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा अर्को कार्यकाल नेतृत्वका लागि प्रतिष्पर्धामा उत्रने निश्चितप्रायः भइसकेको छ । देउवाले सार्वजनिक रुपमा सभापतिको उम्मेदवारी घोषणा गरेका छैनन् । तर, उनको सक्रियता त्यसैतर्फ केन्द्रित देखिन्छ । देउवाले सभापति दोहोराउन खोजेपछि उपसभापति विमलेन्द्र निधिले साथ छाडिसकेका छन् । निधिले आफै सभापतिको उम्मेदवारी घोषणा गरेका छन् ।

यसपटकको काँग्रेसको महाधिवेशनमा देउवालाई कस्ले मुख्य चुनौती दिने भन्ने चासो बनेको छ । पौडेलको पक्षमा सहमतिको सम्भावना छ तर सजिलो छैन । अन्तमा उनले कसैलाई साथ दिने सम्भावना पनि छ ।

महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला र सुजाता कोइराला एक भएमा माहोल फरक हुन सक्छ । अर्जुननरसिंह केसी, डा. रामशरण महत देखि कल्याण गुरुङ समेतले साझा उम्मेदवार बनाउन सक्ने सम्भावना छ । सिटौलाको साथ कस्लाई होला ? यो पनि चासो बनेको छ । निधिले साथ लेलान् या देलान् ? शक्ति बाँडफाँडबाट यसको टुंगो लाग्न सक्छ ।

को कति बलियो
क्रियाशील सदस्यहरुको नामावली प्रकाशन भएको ५६ जिल्लाका वडा अधिवेशन सकिएपछि कुन कुन जिल्लामा को बलियो स्थितिमा रहेको अनुमानहरु भइरहेका छन् । अहिलेसम्म वडामा सभापतिसहित पदाधिकारी र प्रतिनिधिहरु चयनको अवस्था केलाउँदा कुनै पनि पक्ष बहुमतमा नभएको देखिन्छ । अब दुई मुख्य समूहलाई अन्य समूहको साथ अनिवार्य भएको छ । जस्ले साथ पाउँछ उसैले बाजी मार्छ । देशभरको अवस्था त्यही देखिन्छ ।

काँग्रेसभित्र रहेका विभिन्न समूह र नेता विशेषले लगभगत कुनैपनि जिल्लाका वडा तहमा आफ्नो वर्चश्व बनाउन सकेनन् । काँग्रेसको विधान अनुसार वडाबाट चयन भएका सभापतिसहित प्रतिनिधिले नगर या गाउँपालिकामा सभापतिसहित पदाधिकारी चयन गर्न पाउनेछन् । वडा तहकै प्रतिनिधिबाट क्षेत्रीय सभापति र जिल्ला सभापति पनि चयन हुने व्यवस्था छ । वडाबाट प्रतिनिधि नहुनेले नगर या गाउँपालिका, क्षेत्रीय र जिल्ला सभापतिको उम्मेदवार बन्न पाउदैनन् । यसकारण वडा तहबाट चुनिएर आउने चुनौती काँग्रेसमा रहेको देखिन्छ । कतिपय जिल्लामा नगर र क्षेत्रका सभापति, महाधिवेशन प्रतिनिधिका दाबेदारहरु वडा तहमै पराजित भए ।

काँग्रेसमा वडा तहमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका रुपमा भन्दा पनि उनीहरु नजिकका नेता र कुनैपनि गुटमा जानसक्ने नेताहरु सक्रिय रहे । उनीहरु जतिसक्दो बढी प्रतिनिधि जिताउन लागे । देउवा पक्षको मत र पौडेल समूहको मत प्रतिनिधि तहमा आइपुग्दा खासंै अन्तर नभएको बुझिएको छ । काँग्रेसभित्र देउवा र पौडेल कुनैपनि समूहमा नरहेको गुटहरुको मत पनि उल्लेख्य बनिसकेको छ । अब निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयनले काँग्रेसमा कुन समूह प्रभावशाली रहेको तस्बिर देखिनेछ ।

अहिलेसम्मको काँग्रेसको चुनावी लहर हेर्दा देउवा पक्ष पहिलो नम्बरमा, पौडेल पक्ष दोस्रो नम्बरमा र त्यसपछि उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला क्रमशः तेस्रो र चौंथो स्थानमा रहेका छन् । तर, देउवालाई साथ दिइरहेका विजयकुमार गच्छेदारले पनि प्रतिनिधि चयनसम्म प्रभाव बनाउन सकेका छन् ।

रामचन्द्र पौडेलको समूहमा रहेका स्वयं उनी, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, सुजाता कोइराला, अर्जुननरसिंह केसी, डा. रामशरण महतलगायतको पनि पकड छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot